विजयपुर । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा एक सय युनिट रगत सङ्कलन भएको एनसेलले जनाएको छ ।
मङ्गलबार आफ्नो कर्पोरेट कार्यालय काठमाडौँमा रक्तदान गरेको हो । हाम्रो लाइफ बैङ्कको सहकार्यमा आयोजित रक्तदानमा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरू र एनसेलका कर्मचारीलगायतले रक्तदान गरेका थिए । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले स्थानीय बासी ग्राहक मिलेर जीवन रक्षा गर्ने सामाजिक कार्य गरेको बताए । उनले रक्तदान एउटा निःस्वार्थ कार्य भएको बताए ।
एनसेलले ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८ औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम पनि घोषणा गरेको छ । त्यस्ता कार्यक्रमहरूमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सहयोग, बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षरोपणलगायतका कार्यक्रमहरू रहेका छन् ।