विराटनगर । कोशी प्रदेश सरकारले उराँव समुदायले मनाउने ‘करम धर्म’ पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले छवटा निर्णय गर्दै शुक्रबार पर्ने करम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सामयिक कर असूलसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने र सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।