विराटनगर । भारतमा सम्पन्न एक कार्यक्रममा नेपाललाई हिमालयन हस्पिटालिटी एन्ड टुरिजम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

भारतको पर्यटन मन्त्रालयसँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बङ्गालको सिलिगुडीस्थित बुधबार आयोजित कार्यक्रममा नेपाललाई अवार्ड दिइएको हो । उक्त अवार्ड नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराई र निवर्तमान अध्यक्ष उदय श्रेष्ठले ग्रहण गरे ।

सात सयभन्दा बढी पर्यटकीय गन्तव्यहरूमध्ये नेपाल टुरिजमको क्षेत्रमा उत्कृष्ट रहेको  भन्दै हिमालयन हस्पिटालिटी एन्ड टुरिजम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो । भारतले विभिन्न २० विधामा अवार्ड वितरण गरेको थियो । भुटानले पनि अवार्ड पाएको छ ।

कार्यक्रममा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यकोे वृत्तचित्र प्रस्तुत गरिएको थियो । नाट्टा कोशी प्रदेशका अध्यक्ष भट्टराईले घुम्नका लागि नेपालमा मनोरम पर्यटकीय गन्तव्यहरू रहेको जानकारी गराए । उनले नेपाल घुम्न आउनका लागि आग्रहसमेत गरे । सोही अवसरमा नेपाली संस्कृति झल्किने नृत्यसमेत प्रस्तुत गरियो ।