नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए ।
आइतबार राति १० बजेदेखि सुरू भएको मतदान आज सोमबार बिहान ५ बजे सकिएको थियो । मतदान सकिएकाले दिउँसो मतगणना हुने बताइएको छ ।
निर्धारित समयभन्दा झन्डै ११ घन्टा ढिलो एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सुरू भएको थियो । अधिवेशनमा सहभागी प्रतिनिधिहरूले ३५ स्थानबाट मतदान गरेका थिए ।
पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाको उम्मेदवारी कायम छ। प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुँदैछ।