नेकपा एमाले प्रथम कोशी अधिवेशनले एमाले नेता घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।
प्रतिद्वन्द्वी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै नेता खतिवडा कोशी प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
खतिवडाले ५ सय १२ मत प्राप्त गर्दा नेता विनोद ढकालले ४ सय ३० मत मात्र प्राप्त गरेका छन् ।
यसअघि उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भइसकेका छन् । सचिवमा राजकुमार भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ५ सय २४ मत प्राप्त गर्दा प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत प्राप्त गरे । उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् । राईले ६१० मत प्राप्त गर्दा जलवर्षाले ६२८ मत प्राप्त गरिन् ।
प्राप्त परिणाम अनुसार मजदुर क्लष्टरतर्फ भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी भएका छन् । राईले ६१४ मत प्राप्त गर्दा लिङ्देनलए ५२२ र धमलाले ४४६ मत प्राप्त गर्दै विजयी भए । यस्तै मजदुर महिलातर्फ ५६८ मत प्राप्त गर्दै निर्मला परियार र ५३३ मत प्राप्त गर्दै डोमा राई विजयी बने ।
कोशी प्रदेश अध्यक्षमा निर्वाचित खतिवडा यस अघि एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख थिए । यस्तै उनले जनप्रतिनिधिका रुपमा मोरङको साविक लेटाङ गाविसको अध्यक्षका रुपमा काम गरे । खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका उनी २०७९ को निर्वाचनमा भने लिम्बूसँगै पराजित भएका थिए ।