केही सहकारी संस्थाहरू सहकारी सिद्धान्त र मूल्यमान्यताअनुसार नचल्दा त्यसको असर अन्य समग्र सहकारीमा पर्न थालेको छ । धरानको गोरखा बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारणसभाका क्रममा प्रस्तुत गरिएको आय–व्ययले त्यसको पुष्टि गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा राखेको लक्ष्यलाई पूरा गर्न नसकेको शुक्रबार सैनिक भवनमा आयोजित कार्यक्रममा अध्यक्ष मानबहादुर राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनबाट पुष्टि भएको हो । सहकारीले आ.व. २०७८÷०७९ मा पाँच करोड ९ लाख ३८ हजार ३७ रुपैयाँ २८ पैसा आम्दानी गरेको थियो । आ.व. २०७९÷०८० मा पाँच करोड ३८ लाख ५ हजार आठ सय ४८ रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो तर, चार करोड ३६ लाख ८१ हजार नौ सय ६४ रुपैयाँ ७४ पैसा मात्रै आम्दानी गर्न सफल भयो । यो रकम गत वर्षभन्दा ७२ लाख ५६ हजार ७१ रुपैयाँ ५४ पैसाले कम हो । प्रतिशतका आधारमा २२ दशमलव ३९ प्रतिशत ऋणात्मक बन्न पुगेको छ ।
लक्ष्यभन्दा एक करोड एक लाख २३ हजार आठ सय ८३ रुपैयाँ २६ पैसाले कम हो । सहकारीले संस्थागत पुँजी जगेडा घाटा पूर्ति कोषमा मात्रै ७ दशमलव ०६६ प्रतिशत धनात्मक रहेको छ । प्रतिशतका आधारमा हेर्दा सहकारीको शेयर रकम, निक्षेप सङ्कलन, निक्षेप फिर्ता, जम्मा निक्षेप, कर्जा लगानी, कर्जा असुली, कर्जामा रहेको कुल रकम, कुल सञ्चालन बचत नाफामा पनि गत वर्षभन्दा ऋणात्मक रहेको छ । सहकारीले शेयर सदस्य भने केही वृद्धि गर्न सफल भएका छन् ।
अध्यक्ष मानबहादुर राईले भने, ‘सहकारी सिद्धान्त, मूल्य र मान्यतामा नचल्दा अन्य सरकारीलाई पनि समस्या परेको छ ।’ उनले आफ्नो संस्थाले कोरोना महामारीका बेला पनि सदस्यहरूलाई १२ लाख रुपैयाँसम्म ऋण प्रवाह गरेको बताए । सहकारीलाई नियमन गर्ने पहिलो दायित्व सहकारीकै सदस्यको रहने भएकाले जहिल्यै सहकारीले के कसो गरिरहेको छ भन्ने विषयमा नियमन गर्न आग्रह गरे ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ (नेफ्स्कुन)का कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले सरकारीको मूल्यमान्यताअनुसार नचल्ने सहकारीमा समस्या आउनुपर्ने बताए । अनि मात्रै सिद्धान्त र मूल्यमान्यतामा चलेका सहकारीको अस्तित्व र समाजमा छवि बन्ने उनले बताए । ‘मूल्यमान्यताअनुसार चलेका सहकारीलाई कहिल्यै समस्या पर्दैन’ उनले सम्बोधनका क्रममा भने, ‘गोर्खा सहकारी पनि त्यसैभित्र पर्छ । सहकारीलाई नियमन गर्नका लागि पहिलो दायित्व सहकारीकै सदस्यको हुन्छ ।’ धरानमा केही सहकारीका कारणले गर्दा सिद्धान्तमा रहेर सञ्चालन भएका सहकारीमा पनि बचत सङ्कलनलगायतमा समस्या पर्दै गएको छ ।
कार्यक्रममा धरानका निवर्तमान नगरप्रमुख तिलक राईले देशभर आर्थिक तरलता हुनुमा सहकारीको गलत क्रियाकलापका कारणले पनि भएको बताए । त्यसले राम्रा सहकारीलाई पनि अप्ठ्यारोमा पार्दै लगेको उनले बताए । बचतकर्ताले सहकारीको व्यवस्थापन कस्तो छ भन्ने विषयमा ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए । सङ्घ, प्रदेश र स्थानीय तहमा स्पष्ट कानून निर्माण नहुँदा समस्या भएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सानो पुँजी सङ्कलन गरेर सहकारीहरू सञ्चालन हुँदै आएको बताए । खेर जाने पुँजीलाई व्यवस्थित गर्ने सहकारी नियम, ऐनअनुसार चल्नुपर्ने बताए । कार्यक्रममा तीन जना असल ऋणीलाई सम्मान पत्रका साथ सम्मानित गरिएको थियो । कार्यक्रममा आशाकुमारी राई, देउकुमारी राई, मेनुका राईलाई सम्मान पत्रले सम्मानित गरिएको छ ।
परशुराम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
धरानस्थित गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ अधिवेशनले परशुराम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
धरान–१० स्थित सैनिक भवनमा शुक्रबार आयोजित सभाले समितिको उपाध्यक्षमा नवीन राई, सचिवमा भूमिनन्द लिम्बू, सह–सचिवमा यशोदा राईलाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा कृष्णकुमार राई, सोमा लिम्बूखिम, पूर्णमाया राई, देवाराज राई, देवकुमार लिम्बू, कविता राई, लेखमान सुब्बा र देउमान लिम्बू रहेका छन् । यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा रामचन्द्र राई चयन भए । यस्तै सदस्यमा लेखमान सुब्बासहित छन् ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मानबहादुर रुम्दाली, सदस्यद्वयमा अधिवक्ता बलराम राई र चन्द्रमाया लिम्बू रहेका थिए । उनीहरूले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।