विश्वासको मत नपाउने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने भएका हुन् ।
उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उनले मार्गप्रसस्त गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।
संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।
एक बजे बस्ने भनिएको सदन भर्खरै सुरु भएको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४० रहेको छ । यसअघि विश्वासको मत दिँदै आएको राप्रपा पनि तटस्थ बस्ने जनाएको छ ।
प्रदेशसभामा काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।