कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन पदबाट राजीनामा दिएको बताएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए । उनले जानी नजानी अहिले कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए । प्रदेशमा कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके थप जटिल मोडमा पुगेको बताए ।
कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।
तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।
विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ ।
अब संविाधानको धारा १६८ (५) अनुसार सरकार गठनको बाटो खुलेको छ ।