मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले आजै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।
प्रदेश प्रमुख खापुङले गत असोज २२ गते नेपालको संविधानको धारा १६८ (३) बमोजिम कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा कार्कीलाई नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख खापुङलाई राजीनामा बुझाउँदै कार्कीले संविधानको धारा १६८ (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा विश्वासको मतको लागि अपनाइने प्रकृया अवलम्बन गर्नु अगावै प्रदेश सरकारको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत् सुशासन कायम गर्न जातीय, धार्मिक एंव–सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उदेश्यले विश्वासको मत प्राप्त गर्ने विधि र प्रकृयाअगाडि नबढाउन र त्यस्तो विधि प्रकृयालाई अश्विकार नगरी संवैधानिक दृष्टिकोणले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको भूमिका प्रभावकारी रुपमा स्थापित गर्न, विश्वासको मत प्राप्त हुने वा नहुने विषयको परीक्षण गर्नु पूर्वनै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरका छन् ।
कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन पदबाट राजीनामा दिएको सदनमा बताएका थिए । उनले जानी नजानी अहिले कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताएका थिए । प्रदेशमा कुनै पनि दलको बहुमत नरहेको र दलबीचमा सहकार्य हुन नसके थप जटिल मोडमा पुग्ने कार्कीले उल्लेख गरेका थिए ।
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।
तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।
विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ ।
अब संविाधानको धारा १६८ (५) अनुसार सरकार गठनको बाटो खुलेको छ ।