सुनसरीका व्यवसायीले कोरोनाको मारले थिलथिलो बनेका व्यवसायी आर्थिक मन्दी, राष्ट्र बैंकको नीति र बैंकको ब्याजदर वृद्धिले पलायन हुँदै गएको गुनासो गरेका छन् ।

विषम परिस्थितिमा व्यवसायी नाफा कमाउन होइन घाटा कम गर्न व्यवसाय गरिरहेको बुधबार (आज) सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित जिल्लाका सुरक्षा प्रशासन प्रमुखसँग चाडपर्व लक्षित शान्ति सुरक्षासम्बन्धि छलफलमा व्यवसायीले गुनासो गरे ।

संघका अध्यक्ष विजय श्रेष्ठले दशैंपछि व्यवसायी अझै पलायन हुने अवस्था रहेको बताए । ‘धेरै सटर लाग्यो, त्यही पनि धैर्य धारण गरेर व्यवसायी बसिरहेका छन्, अध्यक्ष श्रेष्ठले भने,‘अन्तर्राष्ट्रिय मुलुकका सरकारले ब्याज दर कम गर्ने, व्यवसायी सुरक्षाका उपाय अवलम्वन गर्ने गर्दा नेपाल सरकारले उद्योग व्यवसायलाई प्रवर्धन गर्ने ठोस नीति ल्याउन सकेन ।’

धरानमा मात्र ३० देखि ४० ठूला व्यवसायी पलायन भएको संघको अनौपचारिक तथ्यांक छ । मारमा परेका साना तथा मझौला व्यवसायी निराश छन् । भारतीय बजारमा स्थानीयको आकर्षण र सरकारको अनुगमन र राजश्वको त्रासमा व्यवसायी रहेको संघको आरोप छ ।

व्यवसायीलाई राजनीतिक दललेसमेत चुनावमा चन्दा उठाउने माध्यममात्र बनाएको अध्यक्ष श्रेष्ठले आरोप लगाए । उनले मुलुकको ८० प्रतिशत राजश्वमा व्यवसायीले योगदान गरेको बताए ।

‘सावाँब्याज बुझाउन नसक्दा बैंकिङ कसुरको आतङ्क खेप्नु पर्यो ।’

व्यावसायिक संकटका कारण बैंकबाट लिएको सावाँ–ब्याज बुझाउन नसक्दा व्यवसायीले बैंकिङ कसुरको आतङ्क खेप्नु परेको व्यवसायीले गुनासो गरेको छन् । 

‘व्यवसायीका लागि पछिल्लो दुई दशकमा अहिलेको यो संकट सबैभन्दा अप्ठ्यारो समय हो’, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले भने, ‘एकातर्फ उत्पादन लागत बढेर व्यापारमा कमि आएको छ, अर्कातर्फ समयमा ऋणको सावाँब्याज भुक्तानी गर्न नसक्दा बैंकिङ कसुरको आतंक खेप्नु परिरहेको छ ।’

अन्तर्क्रियामा अध्यक्ष श्रेष्ठले झण्डै ५० खर्बको नेपाली अर्थतन्त्र पछिल्लो समय उतारचढाव भएको उल्लेख गरे । ‘आर्थिक वृद्धिदर खुम्चिएको छ, अर्थतन्त्रमा उत्पादनभन्दा सेवा क्षेत्रको हिस्सा बढेको छ, देशमा रोजगारीको अवसर क्रमश न्यून हुँदै गएको छ ।’ अध्यक्ष श्रेष्ठले भने । 

पछिल्लो एक वर्षमा बढेको मुद्रास्फीति र आम्दानीमा आएको संकुचनका कारण उपभोग्य वस्तुहरुको बजार माग घट्दै गएको श्रेष्ठको भनाइ  छ । ‘आर्थिक क्रियाकलापमा आएको कमिले गर्दा निजी क्षेत्र हतोत्साहित छ, साना तथा मझौला साथै ठूला व्यापार र ठूला उद्योगहरुको उत्पादन लागत बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘पछिल्लो समय सरकार आफैंका लागि पनि कठीन देखिएको छ ।’

आर्थिक गतिविधिमा आएको कमि र सरकारले लिएको गलत नीतिका कारण राजश्व संकलनमा ५५ वर्ष यता पहिलो पटक गिरावट देखिएको श्रेष्ठले बताए । उनले हरेक वर्ष सरकारी खर्च भने वृद्धि भइरहेको बताए । 

कार्ययोजना लिएर आउनुस्– प्रमुख जिल्ला अधिकारी

जिल्लाका सुरक्षा प्रशासन प्रमुखसँग चाडपर्व लक्षित शान्ति सुरक्षासम्बन्धि उद्योग वाणिज्य संघ सुनसरीको छलफलमा प्रमुख जिल्ला अधिकारीले स्थानीय दल र व्यवसायीलाई कार्ययोजना लिएर आउन आग्रह गरिन् । 

उद्योग व्यवसायीले के गर्नु पर्छ? व्यवसाय प्रवर्धन गर्न के गर्नु पर्छ ? सुरक्षा निकायले खेल्नु पर्ने भूमिका, ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय दृष्टिले धरानलाई कसरी विकास गर्ने? भन्ने विषय साथै सहयोग र समन्वय गर्ने विषय महत्वपूर्ण रहेको बताउँदै  धरानको पर्यटन विकास र व्यवसाय प्रवद्र्धनका लागि कार्ययोजना लिएर आउन प्रजिअ पाण्डेले आग्रह गरेकी हुन् । 

आयोजित अन्तर्कृयामा मन्तव्य राख्दै उनले कोभिडदेखि मन्दी आएको बताइन् । उनले धरान पर्यटकीय स्थलका रुपमा रहेको आफू जानकार भए पनि धरानका आन्तरिक द्वन्द्वले समस्या आएको बताइन् । 

‘अब धरान शान्तिपूर्ण र सद्भावयुक्त भएको छ ।’ प्रजिअ पाण्डेले भनिन् । उनले पर्यटन विकासमा कार्ययोजनासहित दल र व्यवसायीलाई आउन आग्रह गर्दै प्रशासनले सहयोग गर्ने र प्रहरीले दुःख नदिने बताइन् । 

बजार अनुगमनका सम्बन्धमा अधिकृतलाई अनुगमनको अधिकार भएको तर कालाबजारी गर्नेलाई मानव अधिकारसँग जोडिएको र नागरिक अधिकारका कुरासँग जोडिएका विषय क्षम्य नहुने बताइन् । तर गलत मनसायले दुख दिनेलाई भने कारबाही गर्ने प्रजिअ पाण्डेले बताइन् । उनले व्यवसायीको गुनासा सुन्ने बताइन् । ‘कानुनबाहिर गएर काम गरे नितान्त कानुनबमोजिम कारबाही हुन्छ त्यसमा हामीलाई सहयोग गर्नु पर्छ ।’

८ बजेपछि पसल व्यवसाय बन्द गर्ने नियम सीमानाका र राजमार्ग क्षेत्रमा दसैंका लागि मात्र भएको प्रजिअ पाण्डेले बताइन् । उनले अपराधका घटनालाई हेरेर राजमार्ग र सीमानाकाका बजार दसैं–तिहार छठसम्मका लागि बन्द गरेको बताइन् । 

‘रात्रीकालीन व्यापार व्यवसाय कार्यविधि र मापदण्ड अनुसार गर्न  चाहानुहुन्छ भने राजनीतिक दल व्यवसायी आउनुस्, कार्ययोजना लिएर आउनुस्, कार्यविधिका सर्तअनुसार सुरक्षा दिने वातावरण प्रशासनले गर्ने छ ।’ प्रजिअ पाण्डेले भनिन् । 

Udyog banijya sangha sunsari blastkhabar.com (1)

'अनुत्पादक क्षेत्रमा लगानीको केन्द्रीकरण'

अनुत्पादक क्षेत्रमा लगानीको केन्द्रीकरणले उद्योगी व्यवसायी मारमा परेको राजस्व अनुसन्धान  कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताए ।

उनले मुलुकमा आर्थिक मन्दी नभएको बताए । आर्थिक सूचक सामान्य अवस्थामा रहेको आचार्यले बताए । ‘धरानमा पनि केही समस्या छन्, चाडबाड सकिएपछि करेक्टिभ एक्सन लिन्छु,’ आचार्यले भने,‘दसैंका बेला मिडियामा अनर्गल प्रचारबाजी हुन्छन्, दसैंपछि केही काम गर्छु ।’

स्थानीय शान्ति सुरक्षा छलफलमा सरकार प्रमुख नै अनुपस्थित

सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले जिल्लामा शान्ति सुरक्षाका लागि आएका  प्रहरी  प्रशासनका प्रमुखसँग चाडपर्व लक्षित शान्ति सुरक्षासम्बन्धि छलफल गरेको छ । तर, स्थानीय सरकारका प्रमुख हर्कराज राई (साम्पाङ) उपस्थित भएनन् ।

आयोजकको निमन्त्रणाका बाबजुद उनी कार्यक्रममा उपस्थित नभएको संघका महासचिव महेन्द्र प्रधानले बताए । नगर प्रमुख साम्पाङले औपचारिक कार्यक्रममा उपस्थित हुनु समयको बर्बादी हो भन्ने अभिव्यक्ति दिंदै आएका छन् । नगर उपप्रमुख अइन्द्रविक्रम बेघा भने कार्यक्रममा उपस्थित भए ।

संघद्वारा आयोजित अन्तर्क्रियामा पूर्वअध्यक्ष सरोज श्रेष्ठले स्थानीय सरकारको भूमिका, जनताको भावना र म्याण्डेडका विषयमा उदासिन रहेको बताए । ‘स्थानीय सरकार आफ्नै भूमरी र समस्यामा फसेको छ, बसपार्क, औद्योगिक ग्रामका योजना ठप्प छन्,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘धरानमा गाई–गोरुको मासु बेच्छ अरे, धार्मिक युद्ध छ अरे भनेर पर्यटक इटहरीदेखि मास्तिर आउन चाहाँदैन, कोही व्यवसायीलाई हर्षोउल्लास छैन, दोकानमा सामान छ, ग्राहक छैन । ग्राहक आउँछ, पैसा छैन ।’

पूर्वअध्यक्ष श्रेष्ठले यदि धरानमा सुरक्षा निकायलाई सुरक्षा ‘थ्रेट’ छ भने लागे आचारसंहिता निर्माण गरेर व्यवसाय निर्बाध सञ्चालन गर्ने वातावरण तयार गरे व्यवसायी मान्न तयार रहेको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अपराधीलाई जस्तो हुन नहुने श्रेष्ठले बताए ।

नगर प्रमुख साम्पाङको अनुपस्थितिलाई इङ्गित गरेका पूर्व अध्यक्ष श्रेष्ठले स्थानीय सरकार नै अवैध गतिविधिमा लागेको बताए । ‘आज मुख्य प्रतिनिधि छैनन्, उहाँ आफै सर्वज्ञानी ।, उहाँ आफैं उपस्थित हुनुहुन्न ।’

धरानको तीनकुनेमा स्थानीय सरकारले अवैध रुपमा व्यवसायीसँग कर उठाइरहेकोतर्फ पूर्व अध्यक्ष श्रेष्ठले सुरक्षा निकायको ध्यानाकर्षण गराए । ‘स्थानीय सरकारले कानुन मान्न पर्छ कि पर्दैन?, एउटा सवारीले त्यहाँ ५ सय तिर्नु पर्छ, खाँदबारीसम्म पुग्दा उसले १५ सय तिर्न बाध्य हुन्छ । व्यवसायीको पीडामा मल्हमपट्टि लगाउनु पर्ने हैन र ?’ श्रेष्ठले प्रश्न गरे ।

‘राजनीतिक दलले व्यवसायीसँग चन्दा उठाउँदैन’

धरानका राजनीतिक दलकातर्फबाट अन्तर्क्रियामा धारणा राख्दै जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बूले व्यवसायीसँग चन्दा नउठाउने दलको साझा धारणा रहेको बताए ।

‘दलले चन्दा उठाउन हुँदैन, हामी रोक्न चाहान्छौ, नैतिक बन्धनमा बाँधिएर अगाडि बढौं ।’ अध्यक्ष लिम्बूले भने । उनले विभाजित मानसिकताले अघि नबढ्न आह्वान गर्दै धरानमा व्यवसायीलाई ‘मनिटरिङ’ गर्ने विषय पेचिलो रुपमा आएको बताए । स्थानीय सरकारको अनुगमनबाट प्रकाशमा आएको बेसारमा देखिएको मिसावट पीडादायी भएको उल्लेख गरे ।

पर्यटनको हब, संरचनाको अभाव

सरकारले पर्यटनको विकासका लागि ‘पर्यटन हब’को अवधारणाको प्रचारप्रसार गरे पनि संरचनाको अभावमा सार्थक हुन नसकेको बताए ।

धरानलाई पर्यटनको हब बनाउने भनिए पनि पर्यटनको पहिलो आधार होटल व्यवसायको प्रवर्धन र उचित संरचनाको निर्माण गर्ने वातावरण नहुँदा भाषणमा मात्र सीमित भएको व्यवसायीले गुनासो गरे ।

‘भाषण गरेर धरान पर्यटनको हब हुँदैन, बिहार र बंगालका पर्यटकलाई बस्ने वातावरणका लागि काम भएको छैन ।’ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले भने, ‘९ बजे नै होटल बन्द गर्ने अवस्था आयो ।’

अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँगै कार्यक्रममा उपस्थित सुरक्षा प्रमुखको ध्यानाकर्षण गराए । उनले छिमेकी मुलुक र देशका ठूला शहरमा ११–१२ बजेसम्म व्यवसाय सञ्चालन भएको स्मरण गराए । ‘हामीले १२ बजेसम्म बजार सञ्चालन गर्ने वातावरण बनाउन सकेनौं?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

अन्तर्कृयामा फ्लोरबाट बोल्दै व्यवसायीले धरानमा व्यवसायलाई निर्बाध सन्चालन गर्न दुव्र्यसन रोक्नुपर्ने आग्रह गरे । उनीहरुले भन्सारमा कडाइ गर्नसमेत आग्रह गरे । प्रदेश सरकारले १० हजार सिसी क्यामेरा संवेदनशील क्षेत्रमा राख्ने निर्णय गरेपछि धरानका व्यवसायीले धरानका संवेदनशील क्षेत्रमा  समेत लगाउन ‘प्रपोजल’ गरे पनि ‘पेन्डिङ’ भएको गुनासो गरे । व्यवसायीले सुनसरी मोरङ औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ भएको सुरक्षा प्रमुखसमक्ष गुनासो गरे ।

'धरानको साख गिर्‍यो'

धरानको कथित जातीय र धार्मिक विवादले धरानको साख गिरेको व्यवसायीले गुनासो गरेका छन् ।

धार्मिक द्वन्द्वको कारक धरानका रुपमा रहेको अनावश्यक हल्ला चलाइएकाले व्यवसायमा प्रत्यक्ष प्रभाव परेको व्यवसायीले गुनासो गरेका हुन् ।

‘कोरोनाले खायो, डेंगुले खायो, सरकारले राजश्व र अनुगमनको नाममा व्यवसायीलाई त्रसित बनायो,’ व्यवसायी जयप्रकाश शर्माले भने, ‘अहिले आएर धार्मिक विवादले धरानको साख गिर्यो ।’

व्यवसायी शर्माले प्रश्न गर्दै भने, – ‘साना र मझौला व्यवसायीको ऋणका सम्बन्धमा उद्योग वाणिज्य महासंघले के गर्यो, के गर्दैछ ?’

संघले आउँदै गरेको चाडपर्व दसैं, दिपावली, नेपाल संवत्, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरेको छ । ‘आर्थिक क्रान्तिः उद्योगी व्यवसायीको समृद्धि’को नाराका साथ जिल्ला भरका ३ हजार ३ सय १७ उद्योगी व्यवसायीलाई संगठित गरेको छ ।