धनकुटा । तेह्रथुमको वसन्तपुरदेखि तरकारी बोकेर धरानतर्फ आउँदै गरेको महेन्द्र पिकअप कोशी लोकमार्ग अन्तर्गत धनकुटा–हिले सडक–खण्डको धनकुटा–६ नाशल चोकमा सोमबार राति दुर्घटना भएको छ ।
प्रदेश १–०२–००२ च ५२८८ नम्बरको महेन्द्र पिकअफ वसन्तपुरबाट तरकारी लिएर सुनसरीको इनरुवातर्फ जाँदै गर्दा गाडीको सपोर्ट भाँच्चिएर दुर्घटना भएको ट्राफिक प्रहरी दीपक खड्काले बताए । खड्काले दुर्घटना निकै गम्भीर प्रकृतिको देखिएको बताए ।
स्थानीय दावा शेर्पाको घरको खानेपानीको ट्याङ्की अड्याउने स्टेण्डमा नठोक्किएको भए सडकबाट १ सय मिटर तल झर्ने थियो । तर, खानेपानी ट्याङ्कीसहितको फलामको स्टेण्डमा ठोक्किएर गाडी थोरै मोडिएर सडकको डिलमा गएर अडिएको ट्राफिक प्रहरीले खड्काले बताएका छन् ।
सडकको डिल काटेर झरेको भए धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलन नेवाः खड्गीको घरको छानामा क्षति पुग्ने निश्चित थियो भने गाडीका मालिक विनोद थापा र चालक रामको ज्यान पनि खतरामा पुग्ने थियो । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ डाँडागाउँ घर भएका गाडी धनी विनोदले भने, ‘दिन पुगेको रहेनछ, थोरै मात्र गाडीले सडक छाडेको भए हामी दुवैजना बाँच्ने थिएनौं, हामीलाई भगवान्ले बचाए ।’ दुर्घटनाको कारण घटनास्थल नजिकै रहेको टशिदेले होटलको खानेपानीको ट्याङ्कीमा क्षति पुगेको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।