कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।
चार वर्षअघि ७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।
झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।
‘यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ’, निर्देशक भट्टराईले भने, ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।’ सो परियोजना निर्माणका लागि माछापुछ«े बैंकले ३५ करोड रुपैयाँ र सिभिल बैंकले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ शेयरदाताबाट लगानी गरिएको निर्देशक भट्टराईको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।
विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।
ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको प्रमुख प्रसाईंको भनाइ छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ ।
उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट ७.३० रुपैयाँका दरले बिक्री गर्ने गरी सम्झौता भइसकेको प्रमुख प्रसाईंले जानकारी दिइन् ।