धरान ४ स्थित निशानेमा वर्षासँगै आएको बाढी र लेदोका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको छ । साना सवारी आवतजावत गर्न थाले पनि ठूला सवारी साधन भने अवरोधका कारण बाटैमा जाम भएका छन् ।
अवरुद्ध सडक खुलाउन धरान उपमहानगरपालिकाको डोजर र स्काभेटर पहिरो गएको स्थानमा पठाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुवास केसीका अनुसार जाम भएका सवारी साधनलाई लाइन लगाएर साना सवारी पठाउने काम भइरहेको छ ।