संघर्षमय जीवनबाट माथि उठेका ब्रह्म कुमार भगवान भाइजी ११ वर्षको उमेरदेखि विद्यालय जान सुरु गरे । १० कक्षामा बोर्ड फस्ट भए । त्यसपछि आइटिएको अध्ययन सुरु गरे ।
उनी बिहानै उठ्थे । निमको बिरुवा भेला पार्थे । त्यसलाई गम बनाउने र बेच्थे । आफ्नो खुट्टामा उभिएर उनले आफ्नो पढाइ पूरा गरे । सात कक्षामा पढ्दा शिक्षकले डाइरी र कलम नल्याए कक्षामा बस्न नदिने बताए । भाइजीसँग त्यतिबेला डाइरी र कलम किन्ने पैसा थिएन । रद्दीका कागजलाई धोएर त्यसलाई घाममा सुकाएर उनी अभ्यास पुस्तिका बनाउँथे र पढ्थे । जब उनलाई त्यही रद्दीमा फ्याँकिएको ब्रह्माकुमारी आचरणको पुस्तक प्राप्त भयो, त्यसै दिनदेखि उनको जीवनले फरक मोड लियो । उनले आचरण अध्ययन थाले । खानेकुरा नहुँदा चामल उमालेर त्यसमा चिनी हालेर खान्थे । तर उनी कहिल्यै गलत बाटोमा हिंडेनन् । चोरी गरेनन् । आज भारतको माउन्ट आबुमा २५ हजार व्यक्तिलाई भोजन गराउँदै आएका छन् । त्यहाँ सेवा गर्दै आएका छन् ।
सन् २०१० देखि भारतका विद्यालयमा भगवान भाइजीले प्रवचन दिन थाले । ५ हजार विद्यालय र ८ सय जेलमा तनाव व्यवस्थापनसम्बन्धी उनले प्रवचन दिएपछि इण्डिया बुक अफ रेकर्डमा नाम दर्ता गरे ।
हालसम्म उनले नेपाल र भारतका १२ हजार विद्यालय र ११ सय जेलमा तनाव व्यवस्थापन र राजयोगसम्बन्धी प्रवचन दिइसकेका छन् ।
‘मेरो जीवनमा मान्छेहरुले ढुंगा हाने, त्यही ढुंगालाई सिंढी बनाएर र म अगाडि बढें,’ भगवान भाइजी भन्छन्, ‘मेरो जीवनमा तनाव नआएको होइन, तर त्यसलाई सहन गरें परिस्थितिको समय जो सकारात्मक बन्छ, त्यो परिस्थिति वरदान बन्छ, परिस्थितिमा जो नकारात्मक बन्छ, त्यही परिस्थिति श्राप बन्छ ।’
यही सन्दर्भमा उनी धरान आएका बेला ब्लाष्टखबरडटकमले उनको जीवन संघर्ष र तनाव व्यवस्थापनसम्बन्धी कुराकानी गरेको छ ।