प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ ।
बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको खाद्यान्न उत्पादन गुमाएको एफएओले एक प्रतिवेदनमा जनाएको छ। यो कूल उत्पादनको पाँच प्रतिशत तथा प्रतिवर्ष आधा अर्ब मानिसलाई खुवाउन पुग्ने खाद्यान्न रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
एफएओले पहिलो पटक विश्वव्यापी तथा व्यक्तिगत दुवै स्तरमा प्रकोपको लागत मापन गर्ने उद्देश्यले यस्तो अनुमान सङ्कलन गर्ने प्रयास गरेको हो ।
“अन्तराष्ट्रिय समुदायले यो तथ्यको समीक्षा गर्दा सन् १९७० को दशकदेखि प्रकोपहरू चौगुनाले बढ्दै गएको छ, यसले खाद्य उत्पादनको प्रभावलाई बढाएको छ”, एफएओका तथ्याङ्क विभागका उपप्रमुख पिइरो कोन्फोर्टीले भने।
एफएओका अनुसार प्रकोपको गम्भीरता र तीव्रता बढ्दै गएको छ । सन् १९७० को दशकमा प्रतिवर्ष हुने यस्ता प्रकोपका घटना एक सयबाट बढेर पछिल्लो २० वर्षमा प्रतिवर्ष चार सय पुगेको छ । यसका लागि मानव र पशुजन्य रोगका साथै मौसम परिवर्तन बढ्दो जिम्मेबार रहेको एफएओको भनाइ छ।
“बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्”, एफएओले भनेको छ । एफएओले जलवायु परिवर्तन, महामारी र सशस्त्र द्वन्द्वका कारण विपत् जोखिमको प्रणलीगत चालकहरू पहिचान गरेको छ ।
उक्त संस्थाका अनुसार औसत वार्षिक खाद्यान्न क्षति छ करोड ९० लाख टन हुने गरेको जुन फ्रान्सको वार्षिक उत्पादन बराबर हो । त्यस्तै चार करोड टन फलफुल तथा तरकारीको उत्पादन र एक करोड ६० लाख टन मासु, माछा र अन्डा नष्ट भएको छ। एफएओले विपत्का कारण कृषि क्षेत्रमा करिब २३ प्रतिशत नोक्सानी भएको उल्लेख गरेको छ ।
त्यस्तै गरिब राष्ट्रहरूले कृषि उत्पादनमा १० प्रतिशतसम्म क्षति बेहोरिरहेका छन् । यसमा पनि एसियासबै भन्दा धेरै प्रवाभित क्षेत्र हो । एसियामा विपत्का कारण कूल कृषि क्षतिको ४५ प्रतिशत र कूल कृषि उत्पादनको चार प्रतिशत बराबर नोक्सान भएको छ। यसै गरी प्रभावित अफ्रिकी राष्ट्रहरूले खडेरीका कारण खाद्यान्न उत्पादनको औसत १५ प्रतिशत क्षति बेहोरेका छन् ।