कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको आज (शनिबार) सनाखत गरेर मात्र प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्ने भएका छन् ।
मुख्यमन्त्रीका लागि ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न लागेका हुन् । त्यसपछि मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुख खापुङले तयारी गरेका छन् ।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ । मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेसका सांसद् केदार कार्की र सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । कार्कीले नेकपा (एमाले) का ३९ र काङ्ग्रेसका ८ सांसद्सहित ४७ जनाको समर्थन जुटाएका छन् । गठबन्धनबाट आङ्बोले काङ्ग्रेससहित चार दलको समर्थन जुटाएका छन् ।
तर, आङ्बोले गरेको दाबीमा माओवादीका १३ र काङ्ग्रेसका कार्कीसहित २९ सांसद्लाई समेत गणना गरेर बहुमत जुटाएको दाबी गरेका छन् । तर, कार्की आफैले मुख्यमन्त्रीको दाबी गरेकाले आङ्बोको बहुमत सिद्ध हुने सम्भावना कम छ । कार्कीलाई एमालेका ३९ र पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका काङ्ग्रेसका ८ सांसद्को समर्थन छ । प्रष्ट बहुमत कार्कीका पक्षमा देखिएकाले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना बढी छ ।
प्रदेश प्रमुख खापुङले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ (५) बमोजिम बहुमत सांसद्हरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए । सोहीअनुसार कार्कीले ४७ सांसद्को समर्थन जुटाएका थिए ।
तर, प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ सूचना जारी गर्दै सनाखत गरेर मात्रै शनिबार मुख्यमन्त्री नियुक्त गर्ने जानकारी दिएका छन् । आज बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ ।
‘मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्रबहादुर आङ्बो र माननीय केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले मिति २०८०/६/२७ गते शनिबार बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।’
कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम यसअघि गठन भएको दुईवटा सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ३ अन्तर्गत ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । कार्की नेतृत्वको सरकारले पनि भदौ २० गते विश्वासको मत पाउने आधार नभएपछि पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको लागि आह्वान गरेका थिए । संविधानको यस धारा बमोजिम प्रदेश सभामा विश्वासको मत पाउने अवस्था भएको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
यसैबीच शुक्रबार दिउँसो नेपाली काङ्ग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका काङ्ग्रेसका नेता केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसद्हरूलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
बैठकले गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो । उक्त बैठकले केन्द्रीय समितिको निर्णयका आधारमा तत्काल बैठक बसेर आगामी कदम अघि बढाउन प्रदेश समितिको पदाधिकारीलाई अधिकार दिने निर्णय पनि गरेको थियो । यद्यपि पार्टी प्रदेश समितिको उक्त निर्णयलाई असन्तुष्ट समूहले ‘रेस्पोन्स’ गरेको छैन ।