बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदोन्नतिको विषयलाई लिएर भइरहेको आन्दोलनका कारण बिरामीले अनाहकमा सास्ती खेप्दै आएका छन् । 

मधेश प्रदेशको राजविराजबाट थाइराइडको रिपोर्ट देखाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएकी हजारा खातुनले प्रतिष्ठानमा डाक्टर नभेट्दा सास्ती पाएको बताइन् । उनले बिहान ५ देखि लाइन बसेर ओपिडीको मेडिसिन विभाग पुग्दा सिनियर डाक्टर नभेटिएको गुनासो गरिन् । ‘टाढाबाट आउँदा दिनै माया मारेर आउनुपर्छ, रोगसँग सम्बन्धित डाक्टर नभेट्दा के हुने हो मनमा चिन्ता परेको छ’–खातुनले भनिन् । उनले रोग बढ्ने डरले मानसिक समस्यासमेत भोग्नु परेको बताइन् । 

यस्तै सुनसरीको बक्लौरीबाट आएकी अर्की बिरामी रामकुमारी चौधरीको पीडा पनि उस्तै छ । मधुमेह रोगको रिपोर्ट देखाउन आएकी उनले सधैँ परामर्श लिने डाक्टर भेटिनन् । ‘सुगर बढेको छ कि, औषधि थप्नुपर्ने हो कि के गर्ने ? मनमा चिन्ता परेको छ’–चौधरीले भनिन् ।

डाक्टर नभेटेपछि उनी मनमा पिर बोकेर घर फर्किन बाध्य भइन् । ‘सधैँ देखाउने डाक्टर छैन, कहिले खुल्ने हो, घोपा क्याम, समयको बर्बाद भयो, दोहोरो खर्च पनि भयो’–बिरामी चौधरीले भनिन् । डाक्टरको आन्दोलनबारे थाहा नपाएकी सप्तरीकी सुमित्रादेवी रामले पनि उस्तै दुःख पाइन् । सप्तरीका अस्पतालमा रोग पत्ता नलागेपछि उनले प्रतिष्ठानमा आउने निधो गरिन् । बिहान चारै बजे धरानका लागि गाडी चढेकी सुमित्रा बिहान ७ बजे आइपुगिन् । अस्पताल सुनसान देख्दा के गर्ने भन्ने आफूले भेउ नपाएको उनले बताइन् ।   

अप्रेशन गर्नका लागि डाक्टरलाई रिपोर्ट देखाउन सुनसरीको चक्रघट्टीबाट आएकी देवीकुमारी कटुवालले डाक्टर नहुँदा समस्या भएको बताइन् । बढुवाको माग राख्दै आन्दोलनरत १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई संयुक्त राजीनामा दिएपछि प्रतिष्ठानमा सेवा प्रवाह प्रभावित भएको छ ।

राजीनामा बुझाई चिकित्सक प्रतिष्ठान फर्किएपछि अध्ययन अध्यापन, परीक्षा र सेवामा आफूहरू संलग्न नहुने घोषणा गरेका छन् । प्रतिष्ठानका पदाधिकारीको निकम्मापनले आफूहरूको वृत्तिविकास रोकिएको बताउँदै  आएका शिक्षक चिकित्सकहरू आन्दोलित भएपछि प्रतिष्ठानका विद्यार्थीसमेत आन्दोलित भएका छन् । अध्ययन अध्यापन रोकिएको भन्दै शुक्रबारदेखि विद्यार्थीले आन्दोलन थालेका छन् । आन्दोलनका कारण प्रतिष्ठानको अकर्मण्यता प्रष्ट देखिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन् । 

प्रतिष्ठान व्यवस्थित नहुँदा प्रतिष्ठानको ओपिडी मात्रै नभएर ओटी (अप्रेसन थिएटर) मा समेत बिरामीले सेवा पाउन नसकेको गुनासो गरेका छन् । बिरामीले रोगसम्बन्धी विशेषज्ञ डाक्टर नभेट्दा स्त्रीरोग तथा प्रस्तुति विभागमा (गाइनो) ओपिडी र मेडिसिन ओपिडीमा समेत समस्या हुने गरेको बिरामीले बताएका छन् ।

टाढाबाट आएका बिरामीले ओपिडीमा डाक्टर नभेटेको गुनासो गर्दैआएका छन् । पूर्वाञ्चलको उत्कृष्ट मानिने प्रतिष्ठानमा पछिल्लो समय विभिन्न कारणले नागरिकहरूले उपचार सेवा पाउन नसक्दा प्रतिष्ठानप्रति गुनासो गर्ने गरेका छन् । उत्कृष्ट मानिने अस्पतालले दिने सेवा सुविधाबाट बिरामीहरू बञ्चित हुँदै आएका छन् ।