मितेरी विकास बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत भानुभक्तको मूर्तिमा रङरोगन गरेको छ ।

धरान भानुचोकस्थित भानुभक्तको अर्धकदको मूर्तिमा रङरोगन र टायल लगाइदिएको धरान–२ वडाध्यक्ष रमेश राईले बताए । उनका अनुसार बैङ्कले यात्रु सहायता कक्ष र ट्राफिक बिटमा पनि सहयोग गरेको छ । बिहीबार काम सम्पन्न गरी बैङ्कले वडा नं. २ को कार्यालयलाई हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष राईको समन्वयमा बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत रङरोगन र टायल लगाउने कार्य गरेको हो । हस्तान्तरण कार्यक्रममा मितेरी बैङ्कका कार्यकारी अधिकृत तुलसी वस्तीले भानुको मूर्ति संरक्षणमा सहयोग गर्ने बताए । 

कार्यक्रममा मितेरी विकास बैङ्क र विराट नर्सिङ होमको धरानस्थित शाखासँग सम्झौता गरेको छ । बैङ्कका ग्राहकहरूका लागि निःशुल्क ओपिडी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । अस्पतालका डा. सि.एस. अग्रवाल र बैङ्कका प्रमुख कार्यकारी अधिकृतले सम्झौतामा हस्ताक्षर गरे । वस्तीका अनुसार ओपिडी सेवामा शतप्रतिशत र अन्य सेवाअनुसार छुट दिने पनि बताए । 

अध्यक्ष राईले अब घण्टाघर सञ्चालनको जिम्मेवारी पनि वडा कार्यालयलाई दिन आग्रह गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका इन्चार्ज सुवास खत्रीले भानुचोकको प्रतिक्षालय सरसफाइ गर्ने जानकारी दिए । कार्यक्रममा मितेरी बैङ्कका अध्यक्ष किसन मास्के, यातायात व्यवसायी महासङ्घ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।