एकलौटी रूपमा समिति गठन गरिएको भन्दै चतराको औलिया मठको नयाँ समितिलाई नस्वीकार्ने औलियाबाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चले जनाएको छ ।

शुक्रबार आयोजित मञ्चको सातौँ साधारणसभामा बोल्दै मञ्चका अध्यक्ष प्रकाश राउतले विनायक पुरीको अध्यक्षतामा गठित व्यवस्थापन समितिलाई युवासँग समन्वय नगरिएसम्म स्वीकार नगरिने बताए ।

उनले पुरीको नेतृत्वमा बनेको समितिमा अधिकांश सदस्यहरू वडाभन्दा बाहिरका व्यक्तिहरू रहेको बताए । स्थानीय युवाहरूलाई ‘बाइपास’ गरेर निर्माण गरिएको समिति मान्य नहुने बताए । उनले करिब डेढ वर्षअगाडि गठित सात सदस्यीय पुरीको समिति ‘कहिले, कहाँ र कुन विधि प्रक्रिया पूरा गरी बनाइएको हो’ भन्दै प्रश्न गरे । 

Auliya Math Chatara

मठका पूर्व अध्यक्ष उदय परियार, उपाध्यक्ष बुद्ध श्रेष्ठ, सल्लाहकार समिति सदस्य राजा तामाङले औलिया मठको विकास र यसको प्रचार–प्रसार गर्ने एक मात्र उद्देश्यले गठित युवाको संस्थालाई उपेक्षा गरी संस्थाको विषयमा केही व्यक्तिले मनगढन्ते हल्ला फिँजाएको आरोप लगाए ।

मठका पूर्व महन्त मुकुन्द भारती चतराबाहिर बस्ने गरेका छन् । संस्थाको व्यवस्थापन र विकासका लागि २०७३ सालमा संरक्षण मञ्चको गठन गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ साविक वराहक्षेत्रका अध्यक्ष कृष्ण कट्टेलले एकले अर्कालाई निषेध गरेर जान नहुने बताए । 

कार्यक्रममा औलिया मठका महन्त पदम नाभ गिरीलाई संस्थाले सम्मान गरेको छ । संस्थाका सह–सचिव त्रिलोचन कट्टेलले आर्थिक वर्ष ०७७/७८ को ५५ हजार पाँच सय रुपैयाँ बराबरको आय–व्यय प्रस्तुत गरे । संस्थाको पहलमा हाल औलिया मठको भौतिक विकास र सौन्दर्यीकरणको लागि नगरबाट परियोजना प्रतिवेदन डिपिआरको तयारी गरिएको छ ।

यसको लागि एक करोड रुपैयाँ छुट्याइएको सचिव तथा कार्यक्रम सञ्चालक केदार साहले बताए ।

Auliya-Math-chatara-sunsari