धरान । धरान–५ स्थित डीपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एक दिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सञ्जिव बान्तवा राईको अध्यक्षतामा सम्पन्न उक्त तालिममा स्वागत गर्दै, सो तालिम अभिभावकहरूको निम्ति अतिरिक्त सीपमुलक प्रशिक्षण साथै तालिमपछि स्वरोजगारको लागि प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।
खाद्य निरीक्षक बादल चेम्जोङ र खाद्य विश्लेषक विमला तामाङले उक्त तालिममा सहजीकरण गरेका थिए । तालिममा सहभागी अभिभावकहरूलाई दुवै प्रशिक्षकहरूले छुट्टाछुटै सत्र गरी खाद्य स्वच्छता, खाद्य ऐन, नियमावली, उद्योग दर्ताको प्रारम्भिक प्रक्रिया तथा अचारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले अचार बनाएका थिए ।
तालिमको समापनमा अभिभावक श्रीस्ती लिम्बू र पुष्पकला लिङ्देनले आ–आफ्नो अनुभव सुनाएका थिए । स्कुलका सह–प्राचार्य कुर्मित बान्तवा(लेप्चा) ले सहभागी अभिभावकहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरे । तालिममा २२ जना अभिभावकहरू सहभागी थिए ।