धनकुटा । धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरिरहेका युवा, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवार र स्वदेशमै बसोबास गरिरहेका विपन्न वर्गका युवाहरूले उत्पादन गरेका विभिन्न कृषिउपज सामग्रीहरूको शनिबार प्रदर्शनी गरिएको छ ।         

धनकुटाको तल्लो टुँडिखेलमा गरिएको प्रदर्शनीमा कृषिजन्य उत्पादन फलफूल, तरकारी घिउ, खसीबोका र घरेलु उद्योग अन्तर्गतका विभिन्न सामग्री रहेका छन् । नेपाल विकास अध्ययन संस्थाको सहयोगमा उद्यम गरिरहेका धनकुटा र झापाका करिब दुई सय ६० बढी उद्यमीको सहभागिता रहेको संस्थाका संयोजक महेन्द्रकुमार राईले जानकारी दिए ।

नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा एक दिने कृषिउपज वस्तुहरूको प्रदर्शनी गरिएको हो । मेलाले उद्यमीलाई बजारको सहज पहुँच तथा प्रवद्र्धन गर्न मद्दत मिलेको संयोजक राईको भनाइ छ । अन्तर्राष्ट्रिय आप्रबासी सङ्गठन आइओएमको सहयोगमा धनकुटा नगरपालिकाका २ सय २० र झापाको अर्जुनधारा नगरपालिकाका ४४ उद्यमीलाई आर्थिक सहयोग गरेको थियो ।

परियोजना कृषि तथा घरेलु अन्तर्गतका विभिन्न उद्यममा लागेका उद्यमीलाई १ लाख ४० हजारको दरले अनुदान उपलब्ध गराएको थियो । तिनै उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शनी गरिएको हो । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रबासन सङ्गठनको आर्थिक सहयोगमा नेपाल विकास अध्ययन संस्थाले एक दिने मेला आयोजना गरेको हो । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको अध्यक्षतामा सम्पन्न एक दिने मेला उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले गरेका थिए ।

उक्त संस्थाले युवा उद्यम व्यवसाय सञ्चालन गर्नको लागि प्रतिव्यवसायी १ लाख ४० हजारको दरले बिउ पुँजी अनुदान दिई उद्योग व्यवसाय सञ्चालन गर्न सहयोग गरिएको धनकुटा नगरपालिका आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले बताए । मेलाको उद्घाटन सत्रमा विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।