विराटनगर ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त गरेका हुन् । नियुक्त भएका दुवै जना मन्त्रीहरुले आज प्रदेश प्रमुख पर्शुराम खापुङले  पद तथा गोपनियताको शपथ गराएका छन् ।

राई र मगर दुवै जना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् । उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ। एमालेले आफ्ना दुई जनालाई शपथ गराउन दबाब दिएको थियो। मुख्यमन्त्री कार्कीले कांग्रेसका पनि दुई जनाको शपथ गराउने तयारी गरेका थिए।

एमाले र मुख्यमन्त्रीबीच कुरा नमिलेपछि आज दुई जना मन्त्रीको मात्रै सपथ भएको हो। कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।