कात्तिक लाग्यो । अब मध्यरातमा जोगीको फेरी सुनिनेछ । बराठको सिङलाई बजाउनुलाई फेरी लगाउनु भनिन्छ । फेरीसँगै निरञ्जन मन्त्र पनि सुनिन्छ ।
‘जलै बाँधूँ, थलै बाँधूँ, जीव चौरासी बाँधूँ, आकाशै बाँधूँ, पातालै बाँधूँ, डङ्किनी बाँधूँ, बोक्सिनी बाँधूँ ...
नम हे, नम है, मसान हे, मसान है, शनि मै, देशानी मैं, देवी है ...’ मध्यरातमा मन्त्रोच्चारण गर्ने र बिहान ‘जय गुरु गोरखनाथ’ भन्दै सिदा लिन आउने व्यक्तिलाई जोगी भन्ने चलन छ । उनीहरुको समुदायलाई समेत जोगी समुदाय भनिन्छ ।
समुदायका पढेलेखेका विद्वानहरुले सांस्कृतिक संरक्षणका दृष्टिले मात्रै फेरी लगाउने गर्छन् । पुराना पुस्ताका अझै यसलाई आफ्नो संस्कृति र एकैपटक भए पनि गर्नै पर्ने पितापूर्खादेखि चलेको चलनका रुपमा लिन्छन् ।
गोपाल जोगी । जन्म संखुवासभा । हाल धरान । वि.सं. २०१७ सालको जन्म । १३ वर्षको उमेरदेखि परम्परालाई पेशाका रुपमा अपनाए । वर्षका तीन वटा महिना पुख्र्यौली परम्परा धान्दै आएका छन् उनी ।
किन लगाइन्छ फेरी, किन बजाइन्छ बराठको सिङ ? गोपाल भन्छन्, ‘घरको रख्खे हुने दोख, देशान्तर हटेर जाने परम्परादेखि चलेको चलन हो । वायुले दुःख दिइरहने छ भने हटेर जाने फेरीसँगै निरञ्जन मन्त्र पनि भनिन्छ ।’
अहिले शहरी समाजले ‘फेरी’ भुल्दै गएको गोपाल बताउँछन् । समुदायमै पनि फेरी लगाउने घटे । गोपाल भन्छन्, ‘धेरै पढाइलेखाइ भएका बुद्धिजीविले यो गर्ने कुरा आएन त्यही पनि उँधौली, उँभौलीमा बराठको सिङ हाम्रो कुलमा राखेर, बजाएर संस्कृति मान्दै आएका छन् ।’
घरका चार सुर फुके (फेरी लगाए) दुःख कष्ट हटेर जाने विश्वास छ । बुढापाका विश्वास मान्नेहरुले घरभित्र पसेरै फुकिदिनँ आग्रह गर्छन् । तर बजारका घरमा चारसुर हुँदैन ।
‘अहिले चार सुर घुम्नु पर्दैन, पहाडतिर घरका चार सुर हुन्थे, बजारमा हुँदैनन् । दान दक्षिणा पनि विधि पुर्याएर दिँदैनन् । पहाडमा पाँच घर हिंड्दा उठ्ने सिदा बजारमा डेढ सय घर हिंड्दा पनि उठ्दैन ।’ गोपाल भन्छन्, ‘विधि नपुर्याई माग्ने, साधुलाई दिएजस्तो गर्छन् ।’
राजा पृथ्वीनारायण शाहले गुप्तचर राखेको विषय उनले बुढापाकाबाट सुनेका छन् । उनी भन्छन्, ‘तर कसैले हो पनि भन्छन्, कोही होइन पनि भन्छन् ।’
मध्य रातमा फेरी लगाउने र बिहान सिदा लिन आउने जोगी शहरमा कमकमै देखिन्छन् । उसो त फेरी लगाउने विशिष्ट महिनाका रुपमा कात्तिक महिनालाई लिइन्छ । चैत र साउनमा समेत फेरी लाग्छ ।
जोगी समुदायलाई पृथ्वीनारायण शाहको रात्रीकालीन गुप्तचरका रुपमा व्याख्या गरेको पाइन्छ । तर जोगी समुदायका कतिपयले यो मतलाई इन्कार गर्छन् । गुरु गोरखनाथबाट दिक्षित पनि भनिने यो समुदायको नेपाली पहाडी समाजमा विशिष्ट विशेषता छ । मौलिक मन्त्रोच्चारण, झारफुक र उपकारका दृष्टिले नेपाली पहाडी समाजको गुणी समुदायमा पर्छ जोगी समुदाय ।