आज नवरात्रको छैटौं दिन धरानका शक्तिपीठहरुमा सामान्य भीडभाड देखिएको छ ।
धार्मिक क्षेत्रमा घट्दो चहलपहलको मारमा परेको धरानस्थित मठमन्दिर र शक्तिपीठमा आजदेखि केही भीडभाड देखिएको छ ।
धरान २ स्थित छाताचोकमा रहेको सिंहदेवी मन्दिरमा भक्तजनको सामान्य घुइँचो देखिएको थियो । आज शास्त्रीय मान्यताअनुसार आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन, कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
आज विजयपुरस्थित दन्तकाली मन्दिरमा समेत सामान्य भीडभाड देखियो । भक्तजन बिहान ५ बजेदेखि नै पूजापाठ गर्दै गरेका देखिन्थे । आज शक्तिपीठहरुमा षोडशोपचारले विधिपूर्वक देवीको आह्वान गर्ने र पूजाअर्चना गर्ने गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।