कोसी नदीमा जेटबोट चलेपछि जति सहजयात्रा र स्थानीयस्तरको पर्यटन प्रवद्र्धन भएको छ उत्ति नै यहाँ चलेका जेटबोटले विकट पहाडी जिल्लामा रहेका नागरिकको सेवा गर्दै आएका छन् ।
कोसी नदीको अपार सम्भावनामा कोशेढुंगाका रुपमा उदय भएको जेटबोट सञ्चालनले पर्यटनसँग जोडिएर आएका विविध सम्भावनाको आयामलाईसमेत उजागर गरेको छ ।
हाल कोसी नदीमा जेटबोटले स्थानीय पर्यटक र तराई–पहाडको भौगोलिक दूरीलाई मात्र कम गरेको छैन, यसले दैनिक असाध्ये र अपरझट बिरामीलाई सेवा दिइरहेको छ । शनिबार दमको व्यथाले च्यापेकी भोजपुरकी एक महिलालाई शहरको अस्पतालसम्म ल्याइपुर्याउन जेटबोटको सहजताले अतुलनीय भूमिका खेल्यो । आइतबारसमेत एक बिरामीलाई जेटबोटले अस्पतालसम्म पुर्याउन मद्दत गर्यो । (भिडियोमा हेर्नुहोस्) पहाडी क्षेत्रका कतिपय बिरामी व्यथाको सिकार बन्छन् । सहज यातायातको सुविधा प्राप्त गर्न नसक्दा नागरिकले अंगभंग हुनु र अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
‘गत वर्षामा चतरा–वराहक्षेत्र सडक पहिरोले ४ दिनसम्म अवरुद्ध हुँदा जेटबोटले सेवा दिएको थियो,’ हामीले जेटबोटको उपयोगितालाई नकार्न सकिंदैन व्यवसायीहरुले राम्रो काम गरिरहनु भएको छ,’ आइतबार अनुगमनमा कोशी नदीस्थित ‘जेटबोट पोर्ट’ मा पुगेका वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले भने, ‘हामीले जलबिहारलाई राम्रो बनाउने संकल्प गरेका छौं ।’
नगरप्रमुख कार्कीले सुरक्षाको दृष्टिकोणबाट जेटबोट यात्रालाई प्रभावकारी बनाउन व्यवसायीलाई भरमग्दुर प्रयास गर्न सुझाव दिएको बताए । (भिडियोमा हेर्नुहोस्)
जेटबोट सञ्चालक अनिस थापा आफूहरुले व्यवसायमात्र होइन, सेवासमेत गरेको बताउँछन् । उनी भन्छन्, ‘महिनामा आठदश वटा बिरामीका घटना हुन्छन्, केही दुर्घटना पनि भएका थिए, हामी मानव सेवामा संवेदनशील भएर लागि परेका छौं ।’ चतरा–वराहक्षेत्र रुटमा गाडी दुर्घटना हुँदा दुर्घटनामा परेका १८ जनालाई तत्काल उद्धार गरी अस्पताल लगेको व्यवसायी थापा स्मरण गर्छन् । भोजपुर, धनकुटालगायतका ग्रामीण भेगका स्थानीयलाई आकस्मिक स्वास्थ्योपचारका लागि पनि जेटबोट सञ्चालनले सहयोग गरेको बताउँछन् ।
जेटबोट सञ्चालकको सपनामा सरकारको असहयोग
कोशी नदीलाई सहासिक खेल पर्यटनका दृष्टिले अघि बढाउने यातायात व्यवसायीले योजनासमेत बनाएका थिए । केही व्यवसायीले जल पर्यटनको सुरुवात गर्ने र प्रवद्र्धन गर्ने योजना बनाए । तर सरकारको ठोस नीति नबन्दा व्यवसायीमा निराशा छाउन पुग्यो ।
पर्यटन व्यवसायी रमण भट्टराईले कोशी नदीमा जेटस्की, बनाना बोट, प्यारासाइलिङ, फ्लाईबडी, बम्परबोर्डलगायत भित्र्याएर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएका थिए । उनले थाइल्याण्ड, सिंगापुर, मलेसिया र गोवामा सञ्चालनमा आइरहेका ‘वाटर स्पोर्टस्’ का गतिविधि कोशी नदीमा गराउने उद्देश्य राखेका थिए । तर कोशी नदीमा सरकारको नीति र योजना नभएकाले उनले अझै त्यो जोखिम उठाउन सकेका छैनन् ।
‘हाम्रै कम्पनीले योजना बनाएको हो, तर नीति, निर्माणको तहमा तीनै तहका सरकारले काम गर्न नसक्दा हामीले जोखिम उठान सकिरहेका छैनौं ।’ व्यवसायी भट्टराई भन्छन् ।
जेटबोट सञ्चालन गर्न कोशी नदीमा अन्य निकै बाधाव्यवधान भए पनि वर्षाको मौसम भने प्राकृतिक रुपमै बाधक छ ।
‘सातवटा कोशी मिलेर बनेको यो नदी मुलुककै सबैभन्दा ठूलो नदी हो यहाँ निकै सम्भावनाका बीच पनि अप्ठ्याराहरु पनि छन्’ व्यवसायी अनिस थापा भन्छन्, ‘प्रकृतिलाई नियन्त्रण गर्न नसके पनि अन्य व्यवधानमा भने संघीय सरकार, प्रदेश र स्थानीय स्तरबाट काम हुन जरुरी छ ।’
सरकारका मन्त्रीहरुले अनुगमन र अवलोकनमा आउँदा कोशी नदीबीचमा रहेका ‘अब्स्ट्याकल्स’ का रुपमा रहेका चट्टानलाई फुटाएर जलमार्ग प्रसस्त गर्ने बताउँदै आएका छन् । तर त्यो सपना पूरा भने हुन सकेको छैन । ‘समृद्धिको सपना देख्ने सरकार निद्राबाट नब्युझिंदा कोशी नदीमा जलपर्यटनको अथाहा सम्भावना कार्यान्वयन हुन सकेन ।’ व्यवसायी थापा भन्छन् ।
सम्भावना अथाहा तर बाधैबाधा
१० बढी व्यावसायिक कम्पनीका पानीबोट सप्तकोसी नदीमा सञ्चालनमा छन् । कोशी एडभेन्चर प्रालि, दन्तकाली जलयातायात प्रालि, वराहक्षेत्र जलयातायात प्रालि, कोशी रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन, नेवार मरिन एण्ड एम्युजमेन्ट प्रालि, सप्तकोशी रिसोर्ट एण्ड वाटर फनलगायतका कम्पनीका व्यावसायिक बोट कोसीमा चल्छन् । तर व्यावसायिक कम्पनीका जेटबोट चलाउने पाइलटसँग अनुमतिपत्र भने छैन ।
हाल भचुवासम्म पुगिरहेको जेटबोट दूधकोशी (सुनकोशी) को बाधा पन्छाउने हो भने बेलका ७ र हतुवागढी ९ को लाम्पातेसम्म पुग्न सकिन्छ । बीचमा रहेका केही ठूला चट्टानलाई हटाउने हो भने अरुणबाट तुम्लिङटार र सुनकोशीबाट दोलालघाटसम्म पुग्न सकिन्छ ।
यदि राज्यले यी बाधालाई पन्छाउने हो भने चतराबाट हिँडेर तीन दिनसम्म लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिने स्थानीय बताउँछन् । भोजपुरको पावला, दुङमाना, पाङ्चा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जेटबोट संचालक थापा बताउँछन् । यस्तै खोटाङ जिल्लाका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा चतरा आइपुग्न सक्छन् ।
चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्न सक्ने संचालक थापाको भनाइ छ । यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न ¥याफ्टिङमा झण्डै ८ घण्टा, हिँडेर ३ दिनसम्म र जेटबोटमा एकै घण्टामा आइपुग्न सकिन्छ ।
पूर्वाधार निर्माणमा उदासिनता
सप्तकोशीमा चल्ने जेटबोट तथा मोटरबोटमा लगानी गर्न लगानीकर्ता आकर्षित भइरहे पनि सञ्चालनका लागि उपयुक्त पूर्वाधार निर्माण भएको छैन । सप्तकोशीका ठाउँठाउँमा ठू–ठूला ढुंगा, भंगालो आदिको व्यवस्थापन नहुँदा यात्रुहरु जोखिममा छन् । कोशीमा बाँस ढुवानी हुँदा पानी जहाज ठोकिने र दुर्घटनामा पर्ने खतरा उतिकै छ । पानी जहाज सञ्चालन भए पनि जहाज चालकलाई लाइसेन्स दिने व्यवस्था नेपालमा छैन । विदेशी चालक ल्याउँदा लागत बढी पर्ने मात्रै होइन नेपाली बिमा कम्पनीले बिमा समेत गर्न मान्दैनन् ।
यात्रु र जहाजको बिमा गर्न नेपाली लाइसेन्स भएको चालक हुनु पर्ने र राज्यको कुनै निकायमा कानुन अनुरुप दर्ता भएको हुनु पर्ने बिमा कम्पनीहरूले बताउने गरेका छन् । पानी जहाज सञ्चालनमा आए पनि मापदण्ड, कानुन, नियमनकारी निकाय नहुँदा समस्या र अस्वस्थ प्रतिस्पर्धा बढ्ने देखिएको व्यवसायी बताउँछन् । बिना दर्ता सञ्चालनमा रहेको जल यातायातमा यात्रुहरु भने जोखिमपूर्ण यात्रा गर्नु परेको स्थानीबासीको गुनासो रहेको छ ।
नदीमा तीन सिट क्षमता भएका तीन, आठ सिटका दुई, १८ सिटका एक र ७० सिट क्षमताको एक जेटबोट सहित १० बढी जल यातायातका साधन सञ्चालनमा छन् । जल यातायात सञ्चालन हुँदै आएकोमा दर्जन बढी कम्पनीले बोट ल्याउने तयारी गरेका छन् भने सप्तकोशी एड्भेन्चर्स प्रा.लिले एकै पटक १८ वटा जहाज ल्याउने तयारी गरेको थियो । अहिले सञ्चालकमा निराशाबाहेक केही देखिंदैन ।
चतराबाट हिँडेर हप्तौं लाग्ने भोजपुर, खोटाङ लगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिने व्यवसायी अनिस थापा बताउँछन् । उनले भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोक सम्मका स्थानीय यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने बताए ।
खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सक्ने पनि थापाले बताए । चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिन सम्म लाग्छ । यी क्षेत्रहरूबाट चतरासम्म आइपुग्न र्याफटिङमा करिब ८ घण्टा लाग्छ ।
सरकारले जल यातायातलाई सहज बनाउँदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसँग जोड्नका लागि जेटबोट वैकल्पिक यातायातको साधन भएकाले जल यातायात सम्बन्धि नीति बन्नुपर्ने व्यवसायीको माग छ ।
सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अहिले जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरू छिचोल्न सकेका छन् । तर जेटबोटको सम्भावना र यात्रुहरूको सुविधा यतिमा मात्र पर्याप्त छैन । अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने व्यवसायी बताउँछन् ।
नेताहरूले गफ दिए काम गरेनन्
सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री, पर्यटन मन्त्री पानी जहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गर्छन् । विभिन्न पार्टीका नेताले पानी जहाजको सपना बाँडेको धेरै वर्ष भयो । संघीय सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्यो । तर, पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानुन अझै सम्म बनेको छैन ।
सप्तकोशी नदीमा पानीजहाज सञ्चालन भएको एक दशक बित्यो । अझैसम्म कानुन निर्माण नभएका कारण विभिन्न खालका समस्या देखिएको बराहक्षेत्र म्यारिन एन्ड रिसोर्टका अध्यक्ष नवीन पौडेल बताउँछन् । उनले बर्सौनि कोशी प्रदेशका सांसदसमक्ष गुनासो पनि गर्दै आएका छन् । पानी जहाज सञ्चालनमा आएपछि खोटाङ, भोजपुर र धनकुटाको तल्लो भेगका स्थानीयबासीलाई चतरा, इटहरी धरानलगायतका बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा गाउँघरमा उत्पादित सामान बिक्री गर्न सहज हुने गरेको जेटबोट व्यवसायी बताउँछन् ।
चतरा पुलमुनिबाट पानी जहाजले ७ घण्टाको पैदल यात्रा २० मिनेटमा तय गर्छ । जेटबोटबाट खोटाङको दक्षिणी भेग, उदयपुरको बेलका नगरपालिका ७ र ८ वडाबासीलाई फाइदा पुग्ने गरेको छ भने भोजपुर र धनकुटाका तल्लो भेगका बासिन्दा लाभान्वित हुने गरेका छन् । अहिले बराहक्षेत्र मन्दिर भन्दा ६ किलोमिटर तलबाट बोट सञ्चालन हुँदै आएको छ ।