वर्षौंदेखि जंगलभित्र रहेका शक्तिपीठको उजार हुन सकेको छैन । स्थानीयको अगाध आस्था भएका धार्मिक क्षेत्र संरक्षण हुन नसक्दा धार्मिक पर्यटनको सपना खेर गइरहेको छ ।
छिन्नमस्ता भगवती 'छ्यात्छ्याती' छिन् । भाकल, मनोकामना पूरा हुन्छ, भन्ने स्थानीय भक्तजनको मान्यता छ तर आस्थाका प्रतीक दैवी शक्ति झारझोरभित्र बस्नु परेको छ । बराहक्षेत्र नगरपालिका १ स्थित चतरामा रहेको छिन्नमस्ता भगवतीको महिमा, प्रचार र प्रवर्द्धन हुन नसक्दा ऐतिहासिक मन्दिर ओझेलमा परेको छ ।
छिन्नमस्ता भगवतीको मन्दिर सप्तरीको छिन्नमस्ता गाउँपालिका, हनुमान कङ्कालिनी नगरपालिका, उदयपुरको बेलका सोमबारे र वराहक्षेत्रको चतरामा अवस्थित छ । सप्तरीमा सखडा भगवती, उदयपुरमा महाङ्कालदेवी र सुनसरीमा छिन्नमस्ता भगवतीका रुपमा चिनिन्छ ।
'छिन्न' अर्थात छिनिएको 'मस्ता' अर्थात मस्तक वा शीर । शीर चुँडिएको अवस्थामा रहेका मूर्तिहरुको आफ्नै ऐतिहासिक महत्व र कथातत्व रहेको छ । यी विभिन्न स्थानमा रहेका भगवतीभन्दा बढी धार्मिक महत्व चतरास्थित छिन्नमस्ता भगवतीको रहेको छ । तर प्रचारप्रसार नहुदा जंगल र झोरघारीभित्र बस्नु परेको छ ।
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको छ तर वस्तविक छिन्नमस्ता भगवतीको उजागर भने हुन सकेको छैन ।
छिन्नमस्ता भगवती हिन्दू र मुस्लिम धर्मावलम्वीको साझा आस्थको प्रतीक हो । वराहक्षेत्रमा मात्रै त्यस्ता दुई धार्मिक स्थल छन् जुन नजिकनजिक छन् र दुबै मुस्लिम र हिन्दूको साझा आस्थाका प्रतीक हुन् । चतरा गद्दीस्थित औलिया बाबा मठ र त्यसको उत्तरमा अवस्थित छिन्नमस्ता भगवतीको मन्दिर ।
छिन्नमस्ता भगवतीको ऐतिहासिकता प्राचीन इतिहास र किंवदन्ती मुगल साम्राज्यसँग नजिक रहेकाले मुस्लिमको समेत आस्थाको केन्द्र रहनपुगेको मान्यता छ ।
भगवतीलाई बोका, भेंडा, परेवा, हाँस र माछाको बली चढाउने परम्परा रहेको छ । मनोकामना पूरा भएकाले पन्चवलीसमेत दिने गरेका छन् । मुस्लिम धर्मावलम्वीहरु 'फूल हैस' गर्ने परम्परा रहेको छ ।
यो छिन्नमस्ता भगवतीको मन्दिर मल्लकालीन समयका विभिन्न लेखोटहरुमा समेत आउने गरेको छ । हिन्दूपति राजाको दरवार हाल भग्नावशेषसम्म पुग्ने बाटो यही मन्दिर भएर जानुपर्ने हुन्छ ।
हाल छिन्नमस्ता भगवती मन्दिरमा बाबा काशी गिरीले नवरात्रको अवसरमा होम, चण्डी पाठ गरिरहेका छन् । २०३६ सालमा पुजारी कृष्णप्रसाद दाहालले मन्दिर स्थापना गरेका हुन् । २०५५ सालमा स्थानीय अशोक थापा, अशोक खड्का, केशव न्यौपाने, दिव्यराज कोइरालालगायतका ठेकेदारले मन्दिरको पर्खाल लगाइदिएका थिए । त्यसयता तटबन्ध र पुल निर्माण र सरसफाइमा लाखौ खर्च भएको छ ।
हाल मन्दिर वरपर शौचालय, धुनी, पार्किङलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको पुजारी मकरप्रसाद दाहाल बताउँछन् ।