बराहक्षेत्र नगरपालिकाको पर्यटकीय वडा १ नम्बर वडाले चतराघाटदेखि चतराबजार हुँदै नहर डाँडासम्म सडक विद्युतीकरण गरेको छ ।
५० हजार रुपैयाँको बजेटबाट चाडपर्व लक्षित 'उज्यालो वडा अभियान'अन्तर्गत विद्युतीकरण गरिएको वडा सदस्य कुमार भट्टराईले जानकारी दिए ।
हाल २० वाटका ४८ वटा बल्ब लगाइएको वडा सदस्य भट्टराईले बताए ।
यसअघि वडाको बराहक्षेत्र मन्दिर क्षेत्रमा तीन वटा हाइलोजिन बल्ब राखिएको छ । साथै चतरा बजारमा समेत स्थानीयवासी र सामाजिक संस्थाको समन्वय ६ वटा हाइलोजिन बल्ब लगाइएको वडा सदस्य भट्टराईले जानकारी दिए ।
वडाको खारखोला, बगुवालगायतका क्षेत्रमासमेत बल्ब राखिने वडाले जानकारी दिएको छ ।