गत असार २ गते राति आएको पहिरोले फालेलुङ गाउँपालिका-३ खोलाघारीसेपीका मनप्रसाद राईको घर बगायो । सोही पहिरोमा पुरिएर घाइते भएकी उनकी नातिनी जुना सावदेनको उपचारका क्रममा मृत्यु भयो ।

एकातिर परिवारको सदस्य गुमाएको, अर्कातिर घर बगाएको पीडाबाट गुज्रिएका मनप्रसादले दशैंको मुखमा नयाँ घर पाएका छन् । जनसेवा समाज पाँचथरको संयोजनमा राई दम्पतीका लागि ढुङ्गामाटो, जस्तापाता, काठ र चित्राले बनेको तीन कोठे घर निर्माण गरिएको छ। नवनिर्मित घर प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीसहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा बिहीबार हस्तान्तरण गरिएको छ । प्रजिअ मग्रातीले नवनिर्मित घरको ताला खोलेर राई दम्पतीलाई हस्तान्तरण गरेका थिए ।

घर निर्माणका लागि जनसेवा समाजको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत सई पुण्यप्रसाद अधिकारी, प्रहरी हवल्दार राजेश गौतम र पाथीभरा ग्रील उद्योगका सञ्चालक हरि लोवाले नगद ३२ हजार ५ सय मूल्यको जस्तापाता, कांटी किलालगायत सामग्री खरिद गरेका थिए। यसैगरी नेपाली सेनाको रणशेर गण फिदिमले स्थानीयवासीसमेतको सहयोगमा घर निर्माण गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

कार्यक्रममा प्रजिअ मग्रातीले नेपाल सरकारले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको घर निर्माण गर्ने कार्यक्रम अघि बढाए पनि सो को कार्यान्वयनपूर्व नै जनसेवा समाजको संयोजनमा घर निर्माण भई हस्तान्तरण हुनु उदाहरणीय प्रयास रहेको बताए। उनले कमजोर आर्थिक अवस्थाका परिवारको घर तथा आवासको व्यवस्थाका लागि स्थानीयस्तरमा सामूहिक प्रयास गर्नुपर्ने बताए ।

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले असार पहिलो साता आएको बाढी र पहिरोका कारण फालेलुङमा ५ दर्जनभन्दा बढी घर परिवार प्रभावित भएको र ११ घर पूर्णरूपमा विस्थापित भएको बताए।

विस्थापित परिवारहरूको अस्थायी आवासको प्रबन्ध, राहत र उद्धारमा जुटने क्रममा गाउंपालिकाले सबै काम गर्न नसकिरहेको अवस्थामा राई परिवारको घर निर्माण भई दशैँको सम्मुखमा हस्तान्तरण हुनु सुखद विषय भएको उनको भनाइ थियो ।

विपन्न अवस्थाका नागरिक, बालबालिका तथा असहायलाई सहयोग गर्दै आएको जनसेवा समाज पाँचथरले दाताहरूको सहयोग तथा सुरक्षा निकाय र स्थानीयवासीको श्रमदानमा आवासविहीनका लागि घर निर्माणको कार्यसमेत गर्दै आएको संस्थाका अध्यक्ष अधिकारीले बताए।