आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन् ।

केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ । राजधानी बाहिर समेत टीका थाप्न जानेहरुको चहलपहल देखिएको छ ।