बराहक्षेत्र ७ स्थित शाहकालीन राजप्रासाद (क्याम्प)
स्थानीय लवाजमा 'क्याम्पाचौरी' संरक्षणमा स्थानीय सरकार उदासीन देखिएको छ ।

राजाले समेत मनपराएको पर्यटकीय र ऐतिहासिक महत्व बोकेको क्षेत्र वनमाराले ढाकेको अवस्थामा रहेको छ । स्थानीयका अनुसार राजा महेन्द्रको शासनकालमा राजाले सिकार खेल्ने र सूर्यास्तको अवलोकन गर्न तयार गरेको क्याम्प कालान्तरमा जीर्ण र भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगेको छ ।

'जंगलको बीचमा राजा महेन्द्रले सिकार गर्न बनाएको ठाउँ अझै पनि भग्नावेश देखिन्छ' स्थानीय लोकबहादुर कार्कीले भने, तत्कालीन समयमा बाघ लाग्ने गरेको र राजा सिकार खेल्न आउने गरेको जान्ने सुन्नेले भन्छन्, हामीले समेत केटाकेटी हुँदा भवनहरु देखेका थियौं ।'
स्थानीय तहले संरक्षण गरिदिए राम्रो हुने कार्की बताउँछन् । राजाको पालामा स्थापना भएका कारणले ऐतिहासिक र पर्यटनको विकास हुने समेत सम्भावना रहेको उनी बताउँछन् ।

Kyampa chauri barahakshetra

सगरमाथा युवा क्लबका अध्यक्षसमेत रहेका स्थानीय
युवराज भट्टराई क्याम्पाचौरीको पुनर्निर्माण र जीर्णोद्वारा हुनसके आन्तरिक पर्यटन प्रवर्धन हुन सक्ने बताउँछन् ।

राजाले सिकार खेल्ने मात्र नभएर स्थानीयहरुको समस्या सुन्ने, जनगुनासो सुन्नका लागि राजाले एकान्त रोजेको हुन सक्ने क्लबका अध्यक्ष भट्टराई बताउँछन् । आफू सानो छ्ँदा दुईचार वटा घरहरु देखेको भट्टराई बताउँछन् ।
'फुटबल चौर थियो, राजा आउँदा खेल्थे होला भन्ने अनुमान गर्न सकिन्छ, भट्टराई भन्छन्, 'ऐतिहासिक ठाउँ भएकाले यहाँको संरक्षण आवश्यक छ ।

स्थानीयले पुनर्निर्माण र पर्यटकीय क्षेत्रका रुपमा क्याम्पाचौरीको  विकास गर्न माग गरेका छन् ।पहिलेका भौतिक संरचना देख्ने मान्छे हरु अझै पनि छन् । हाल वनमाराले सो क्षेत्र ढाकेको छ । क्याम्पको भग्नावशेष अझै देख्न सकिन्छ ।
स्थानीय सरकार सन्चालन ऐनले दरबार, भग्नावशेष, किल्ला र गढीहरुको संरक्षण गर्न सक्ने अख्तियारी स्थानीय सरकारलाई दिएको छ । तर स्थानीय सरकार ऐतिहासिक क्षेत्रको प्रवर्धन र विकासमा उदासिन देखिँदा सम्भावित पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका छन् ।