धरान-चतरा सडक खण्डको बाघखोला र बगुवा खोलाको वितण्डा सम्झँदा वराहक्षेत्र १ का पूर्व वडाध्यक्ष सुरेश श्रेष्ठ अझै आजित हुन्छन् । ५ वर्षे कार्यकालमा वर्षका ३ महिना उनको समय खोलाखोल्सी र भीर पहिरोमै बित्यो ।
मध्ये वर्षामा उनले दिनैपिच्छेजसो सडक स्तरोन्नति गरे । सडक स्तरोन्नतिमा सुरुका वर्ष बजेट विनियोजन नहुँदा आफ्नै लगानीसमेत बाघ खोलामा खन्याए र बराहक्षेत्रको पहिरो पन्छाउनमा लगाए ।
पर्यटकीय क्षेत्रसँगै अधिकांश पहाडी क्षेत्र रहेको वडामा बाटो बनाउँदै र पहिरो पन्छाउँदै विकास बजेट सकिन्छ । पूर्व वडाध्यक्ष श्रेष्ठको जस्तै हैरानी अहिले वडाध्यक्ष किसन थापा मगरलाई परेको छ । आज बिहानैदेखि उनी धरान चतरा सडक खण्डको बाघखोला, बगुवाखोला र खारखोलासम्मको बाटो बनाउन निस्किए ।
धरान चतरा सडक खण्डको खारखोला बगुवा सडकको दुर्दशाबाट आजित स्थानीयलाई राहत दिन वडाले सडक स्तरोन्नति गर्ने काम सुरु गरेको छ ।
बराहक्षेत्र १ वडा कार्यालयले १ थान ग्रेडर र पानी ट्याङ्करको सहायताले सडकका खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको हो । बाघखोला र बगुवा खोलामा पुल लाग्ने अनिश्चित रहेको स्थानीयले गुनासो गर्दै आएका छन् । वडाध्यक्ष किसन थापा मगरसमेतलाई ठेक्का लागि सकेको खोलामा पुल निर्माणको काम कहिले थालनी हुने हो यकिन छैन ।
स्थानीयको प्रश्नको जवाफ जनप्रतिनिधिले दिनुपर्ने र आफूलाई समेत सरोकारवालाले जफाव नदिएको बताउँछन् । यसैबीच वडाध्यक्षले बगुवादेखि खारखोलासम्मको ६ सय मिटर सडक स्तरोन्नति गर्न सुरु गरेको बताए । इनरुवा नगरपालिकाको ग्रेडर र
वराहक्षेत्र नगरको पानी ट्याङ्करको सहायताले सडक सम्याउने काम गरेको उनले बताए ।
निर्माणाधीन मदन भण्डारी राजमार्गअन्तर्गत धरान चतरा सडकखण्डको बगुवा र बाघ खोलामा पुल लाग्ने स्थलगत अनुगमन गर्ने काम सरोकारवाला निकायबाट भइआएको छ । यसअघिसमेत आयोजना निर्देशक अशोक तिवारीले स्थानीयलाई पुल बन्ने कुरामा शङ्का नगर्न आग्रह गरेका थिए । तर, पुल कहिले बन्ने हो भन्ने विषयमा स्थानीय निश्चिन्त छैनन् ।
झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण भइरहेको छ । बहुवर्षीय योजनाका रुपमा काम भइरहेको चतरा झापा सडक योजनाका प्रमुख सुबोधकुमार देवकोटाले सर्दूदेखि खारखोला सडक खण्डमा पुल निर्माण गर्ने प्रस्तावित ठाउँमा सर्वे गरी डीपीआरको समेत काम भएको बताएका थिए ।
यता जनप्रतिनिधिको भने बिग्रिएका बाटो बनाउँदै कार्यकाल गुज्रिरहेको छ । धरान–चतरा सडक खण्डको दुर्दशाका कारण यहाँको भौतिक र आर्थिक विकासमा समेत अवरोध हुँदै आएको स्थानीयको गुनासो छ ।