पत्रकार तथा सामाजिक अभियन्ता किसन राई बितेर गएको दुई वर्ष पुग्यो । उहाँसँगका वर्षौंअघिदेखिका सम्झनाहरू भने अझै ताजै छन् । अविष्मरणीय छन् ।

सन् २००३ मा हङ्कङ आएदेखि नै किसन दाइसँग चिनजान भयो । त्यसबेला हङ्कङमा म नयाँ थिएँ,  बहिनीहरूसँगै एभरेष्ट मिडियाको अफिसमा जान्थेँ । पछि किरात राई यायोक्खा हङ्कङमा ६ वर्ष सँगै काम पनि गरियो । संस्थामा सह–कोषाध्यक्षसम्म भएँ । त्यसपछि काममा व्यस्त भएँ ।

एकपटक फियोना (सुदूर पूर्वी प्रवासी नेपाली सङ्घ) ले एउटा टुर गरेको थियो । त्यसमा शोभा मगर दिदीसँग भेट भयो । त्यसपछि उहाँसँग पनि एकदमै क्लोज भएँ । दिदी र म एकदम मिल्न थाल्यौं । उता मेरो श्रीमान् मिलन राई र किसन दाइ पनि मिल्ने । उहाँहरूको त अनुहार पनि मिल्ने भएकाले सबैले दाजुभाइ भन्थे । दाजुभाइको गफ पनि खुब मिल्ने, हामी दिदीबहिनीको पनि उस्तै । शोभा दिदीसँग म पनि धेरै मिल्ने भएकाले हामी एउटै परिवारजस्तै भएका थियौँ । अहिलेसम्म पनि हामी एक–अर्कालाई एकै परिवारका सदस्य जस्तो मान्छौँ ।  दुःख–सुख बाँड्छौँ । खुसीहरू साट्छौँ ।

उहाँहरूका र हाम्रा साथीहरू प्रायः एउटै थिए । कसैको जन्मदिन, विवाह वा नयाँ वर्षको पार्टी हुँदा हामी चार जना सँगै जान्थ्यौँ । किसन दाइले हामी सबैलाई अभिभावकका रूपमा गाइड गर्नुहुन्थ्यो । एकपटक नयाँ वर्षको कार्यक्रम थियो । कार्यक्रम जुध्यो । दुईतिरबाट निम्तो आएकाले कता जाने भन्ने कुरा भयो । हामीले चारै जना सँगै जाउँ भन्यौँ तर, उहाँहरूले मान्नुभएन । दाजुभाइ एउटा कार्यक्रममा जानुभयो, हामी दिदीबहिनी अर्कोमा । हामी पार्टीमा रमाइलो गरिरहेका थियौँ । पछि त उहाँहरू पनि पार्टीमा टुप्लुक्क आइपुग्नुभएछ । हामी त छक्कै पर्यौँ । ‘नआउने भन्नुभएको होइन ? फेरि किन आउनुभयो ?’ हामीले सोध्यौँ । उहाँले आफ्नै स्टाइलमा भन्नुभयो, ‘त्यहाँ बोर भयो अनि यतै आ’को नि ।’

किसन दाइसँगका सम्झनाहरू धेरै छन् । उहाँ एकदम हँसाउनु हुन्थ्यो । उहाँको बोलीपिच्छे हाँस्थेँ म । शोभा दिदीको पार्लरमा पनि पहिलादेखि नै गइरहन्थेँ । अहिले पनि उसरी नै जान्छु । उहाँ र मबीच धेरै पारिवारिकदेखि व्यक्तिगत कुरासम्म शेयर हुन्छ । उहाँको दुःख–सुख मैले बुझेको छु अनि मेरो उहाँले बुझ्नु भएको छ । दाइको अफिस र दिदीको पार्लर नजिकै छ । म पार्लरमा जाँदा दिदी र म भएर किसन दाइलाई के के खानेकुरा किन्न पठाउँथ्यौँ । उहाँ पनि ‘यिनीहरूले पियन नै बनाए’ भन्दै ल्याइदिनु हुन्थ्यो ।

उहाँहरूले भर्खरै घर लिनुभएको थियो । घर सर्ने बेलामा पनि डिनर खान गएको थिएँ । पछि उहाँ नेपाल जाने दिन पनि भेट्न गएको थिएँ । दिदी र मैले उहाँलाई पटक–पटक ‘कोभिडको बेला छ नजानुस्’ भन्यौँ तर, उहाँ मान्नुभएन । हामीले कोभिडका बेला नेपाल जाँदा उतै बितेका मान्छेहरूका कुरा सुनायौं तर, उहाँले उल्टै ‘उनीहरूले स्वास्थ्यको ख्याल नगरेर हो । त्यस्तो केही हुँदैन’ भनेर भन्नुभयो । दाइ नेपाल जाने दिन उहाँलाई भेट्न गएकी थिएँ । उहाँ जसरी पनि जाने भनेपछि ‘लौ त दाइ शुभयात्रा, राम्रोसँग जानुस्’ भनेर बाटोमा छुटेको थिएँ, ५ अक्टोबरको दिन । तर, उता अर्कै घटना भएछ ।

घटना भएको दिन बिहान म सुतिरहेको थिएँ । काममा जानुपर्ने भएकाले बेलाबेला ब्युँझिँदा मोबाइलको स्क्रिन हेर्ने मेरो बानी छ । बिहान ६ बजेतिर मोबाइल हेरेँ । त्यो दिन मैले काम गर्ने रेष्टुरेन्टमा ठूलो अर्डर आएको थियो । त्यहाँ पुगेर धेरै काम गर्नु थियो । मोबाइल हेर्दा त माया लिङ्खा छ्यामाको मिस कल देखेँ, उहाँले म्यासेज पनि गर्नु भएको रहेछ । झसङ्ग भएर उठेँ । उहाँले लेख्नुभएको रहेछ, ‘निकिसा, किसन त छैन ।’

म त सपनामा छु कि विपनामा छुट्याउनै सकिनँ । के गरौँ, कसो गरौँ भयो मनमा । श्रीमान्लाई ‘काजी’, भनेर बोलाएँ । उहाँ पनि आत्तिनु भयो । अनि माया छ्यामालाई रुँदै फोन गरेँ । तर, उहाँसँग पनि राम्रोसँग बोल्नै सकिनँ । उहाँलाई सोधेँ, ‘शोभा दिदीलाई थाहा छ कि छैन ?’ उहाँले भन्नुभयो, ‘छैन ।’ सुत्न पनि सकिनँ, तुरुन्तै उठ्न पनि सकिनँ । बेडमै लडेँ । सबैभन्दा शोभा दिदीको याद आयो तर, पनि उहाँलाई फोन गर्न सकिनँ । मनमनै सम्झेँ, उहाँहरूको भर्खरै घर सेट भएको थियो । सबै कुरा राम्रो भइरहेको थियो । एक्कासि बज्रपात हुँदा शोभा दिदीलाई कस्तो भयो होला ? मनभरि यही सोचीरहेँ । तुरुन्तै उहाँलाई भेट्न जान मन थियो, तर मलाई त्यसदिन जसरी पनि काममा जानै पर्ने थियो ।

nikisha

स्व.किसन राई, श्रीमति शोभा लगायतसँग लेखक निकिसा ।

एकछिनमा शोभा दिदीले नै फोन गरेर सुनाउनुभयो । फोन उठाएर बोलेँ तर, आँखाबाट आँशु झरिरहेको थियो । हामी हरेक कुरा शेयर गथ्र्यौं, त्यसैले उहाँले मलाई मात्र फोन गर्नुभएको रहेछ । दुवैजना फोनमै खुब रोयौँ । त्यसपछि त मलाई पनि फोन गरेर धेरैले सोधे । म उहाँहरूसँग नजिक भएकाले सबैले घटनाबारे बुझ्न चाहे, कसैले घरको लोकेसन सोधे । मैले काम गर्दागर्दै बताउँदै गएँ । कोभिडको पिक टाइम थियो । छुट्टी बस्न पनि नमिल्ने अवस्था थियो । कतिखेर काम सकिन्छ भनेर घडी हेरिरहेँ । मनमा कति पीडा छ । काम सकिने बित्तिकै सिधै घरमा गएँ । शोभा दिदीलाई कतिबेला भेटौँ भएको थियो । त्यसपछि फेरि रोयौँ । धेरै मान्छे थिए, उनीहरूले सम्झाए । सबैले कराउन थाले ।

त्यसदिन त्यहीँ बसेँ । त्यो दिनको अवस्थालाई अहिले म शब्दमा बयान गर्नै सक्दिनँ । अहिलेसम्म पनि विश्वासै लाग्दैन । अहिले पनि पार्लरतिर जाँदा उहाँ अफिसमै हुनुहुन्छ कि जस्तो झल्को लाग्छ । हङ्कङमा बेलाबेला नियम कानूनहरू परिवर्तन भइरहन्छन् । आफूलाई थाहा नभएका कुरा हामी उहाँलाई नै सोध्थ्यौँ । बजारमा केही कुरा सुनियो भने पनि उहाँलाई नै सोधेर सही गलत छुट्याउँथ्यौँ । अब त्यसरी कसलाई सोध्नु ?

कति कुरामा हामी आत्तिन्थ्यौँ अनि उहाँलाई सोध्यौँ तर, दाइ चाहिँ जे कुरालाई पनि सिरियस नलिने, नराम्रो खबर भए पनि उहाँ सामान्य तरिकाले मिलाएर भन्नुहुन्थ्यो । उहाँ सही कुरामा कहिल्यै नडराउने । नेपाली समुदायमा अझै कति नराम्रा व्यक्तिहरू छन् । त्यस्ताहरूका लागि पनि केही वर्ष बाँचेको भए हुन्थ्यो जस्तो लाग्छ । उहाँको निधनपछि मेरो श्रीमान्ले त्यति साह्रो फेसबुक पनि चलाउनुहुन्न । उहाँ पनि निराश हुनुहुन्छ ।

मेरो जीवनमा एउटा कुरा चाहिँ खट्किरहनेछ, मैले हामी चार जना मात्रै कतै जाने, रमाइलो गर्ने प्लान गरेँ । पार्टीतिर त धेरैपटक चार जना गइयो तर, हामी छुट्टै चार जना मात्र जान पाइएन । त्यो दिन चाहिँ अब कहिल्यै आउँदैन ।
–हालः हङ्कङ