तिहार नजिकिए पनि धनकुटा नगरपालिका–१ हिले गैह्री टोलका छोटे विशङ्खे यस वर्ष विगत वर्ष जस्तो खुसी छैनन् । विशङ्खे परिवारको पुस्तैनी पेशा मादल बनाउने हो । तिहारको बेला मादल धुमधाम बिक्री हुन्थ्यो । त्यसकारण तिहार उनका लागि सधैँ आइदिए झैँ हुन्थ्यो । तर यसपटक उनी र उनको परिवार निराश छन् ।

त्यै पनि मादल बनाउन भने दिनरात खटिन्छन् । ‘बिक्रीबट्टा विगतको जस्तो छैन, के खुसी हुनु ?’ उनी भन्छन् । विगत वर्षझैँ सोचेर उनी मादल बनाउने कर्मलाई बढाए । दिनरात खटिए । ‘आर्थिक मन्दीले हो या अन्य कारणले हो । अघिल्लो वर्षहरू जस्तो यो वर्ष मादल बिक्री छैन’ उनले भने ।

मादल नेपालीको मौलिक बाजा हो । छोटेले बुबा धनबहादुरको पेशालाई ११ वर्षको उमेरदेखि धान्दै आएका छन् । हाल उनी ६१ वर्षको भए । उनले भने, ‘मादल नियमित बनाउन थालेको ४९ वर्ष भैसक्यो ।’ बाउबाजेको धानी ल्याएको पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनले बताए । उनले भने, ‘नगरी बसौँ, छरछिमेकी र टाढा टाढाबाट आएका ग्राहकहरूले धरै दिँदैनन् के गर्ने ?’

मादल बनाउने सीपबारे बाल्यकालको सम्झना गर्दै उनले भने, ‘बाल्यकालमा मादल बनाएको ठाउँमा गए बुबाले लाठो लगाइ हाल्थे । छेउमै पर्न नदिए पनि इखैले टाढैबाट हेरेर पनि मादल बनाउन सिकेँ ।’ अरू बेला मादलको काम खासै नआए पनि तिहार नजिक आए पछि नयाँ मादल बनाउने, पुरानो मादलमा खरी हाल्नेको घुइँचो लाग्ने गरेको उनले सुनाए । विगतमा दशैँ आएदेखि नै मादल बनाउन थप ७–८ जना कामदार राख्ने गरे पनि यो वर्ष त्यस्तो नभएको उनले बताए ।

‘पहिले मादल बनाउने कामको चाप निक्कै बढे पछि जेठो छोरा निरबहादुर, ज्वाइँ सिमन, कान्छा भाइ देवबहादुर, भान्जा रमेश रोक्का, पत्नी चन्द्रमायालाई पनि तिहार ताकासम्म काम दिन्थे’ उनले भने, ‘सात–आठ जना दिन रात खट्दा पनि ग्राहकको अर्डरमा नयाँ मादल बनाएर दिन र पुराना मादलमा खरी हाल्न निक्कै धौ धौ हुन्थ्यो ।’ यस वर्ष ५०–६० वटा मादल मात्रै बिक्रीको लागि तयारी अवस्थामा रहेको उनले सुनाए । ‘पहिले पहिले गाई तिहारे औँशीको दिनसम्म मादलको अर्डर हुने गर्दथ्यो’ उनले भने, ‘औँशीको दिनसम्म सबै मादल बनाई सक्नु पर्ने हतारो हुन्थ्यो ।’

चार छोरा र पाँच छोरीका बुबा छोटेलाई मादलको कमाइले परिवार पाल्न धौ धौ भएको छ । उनले मादल, खैँजडी, सारङ्गी, मुढा, डम्फु र जुत्ताको कमाइ मासिक ४० देखि ५० हजार रुपैयाँ हुने गरे पनि छोराछोरीको पढाइ लेखाइ र खानपानमा धान्न गाह्रो हुने गरेको बताए । मादलको पेशाबाहेक मकै, कोदो, तोरी र सागसब्जीको खेती गर्ने गरेको बताए । जेठो छोरा निरबहादुर मादल बनाउने पेशाले मात्र जीविका नचल्ने बताउँछन् । मादल बनाउने कामको चाप परेको बेलामा मात्र मादल बनाउन सघाउने गरेको उनी बताउँछन् ।

पछिल्लो समय मादलको लागि चाहिने दाहिने तालमा लागाउने बाख्राको छाला, देव्रे तालमा लगाउने गोरुको छाला, ढुङ्ग्रोको लागी चाहिने लाम्पातेको काठको अभाव भएको बताए । उनले बाख्राको छाला विराटनगर र गोरुको छाला भारतको दार्जिलिङबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार एउटा मादल बनाउन करिब एक साता लाग्छ । मिहिनेतअनुसारको प्रतिफल नहुने निरबहादुर बताउँछन् । ‘खरी लगाउनका लागि घोट्न नै तीन चार दिन लाग्छ’ उनले भने, ‘मिहिनेतअनुसार पैसा हुँदैन ।’

एउटा मादलको मूल्य २ हजार ५ सयदेखि १० हजार ५ सयसम्म पर्ने गरेको उनी बताउँछन् । त्यस्तै डम्फु ४ हजार ५ सय, खैँजडी २ हजार ५ सय, सारङ्गी ८ हजार, छालाको मूढा ३ सय ५० मा बिक्री गर्ने गरेको सुनाए । आधुनिक बाजाहरू बजारमा प्रशस्त आए पनि मादलको माग बजारमा धेरथोर हुँदा उनी ढुक्क छन् ।

‘अहिले मेमोरीमा गीत बजाउने जमाना छ । तर पनि ग्राहक मादल किन्न आउँछन्’ उनी भन्छन्, ‘त्यो हुँदा पनि मादल बनाउने व्यवसाय धरापमा परेको छैन ।’ मादलको माग आएपछि चन्द्रमाया पनि खरी घोट्न सघाउँछिन् । उनले भनिन्, “हाम्रो काम नै यहीँ छ, कामको हतारो पर्दा श्रीमान्लाई सघाउने गरेकी छु । अहिले त झन् श्रीमान् लडेर घाइते भएयता त धेरै काम सघाउनु परेको छ ।’