वराहक्षेत्र (ब्लाष्ट) वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वराह आदर्श क्याम्पस व्यवस्थापन समितिलाई विद्यार्थी सङ्ख्या बढाउन आग्रह गरेका छन् ।
शनिबार क्याम्पसको दोस्रो साधारण सभा नगर प्रमुखसँग क्याम्पसका लागि बस माग गरिएको थियो । बसको मागलाई लक्षित गर्दै नगरप्रमुख कार्कीले भने, ‘क्याम्पसलाई बस चाहिएको छ भने विद्यार्थी सङ्ख्या बढाउनूस्, भोलिपल्ट नै बस आइपुग्छ ।’ नगरको सप्तकोसी क्याम्पसलाई बस दिने भएपछि वराह आदर्शले पनि बस पाउनु पर्ने माग गरेका थिए ।
सहभागी वक्ताहरूको माग सम्बोधन गर्दै नगरप्रमुख कार्कीले क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून भएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्तो चुनौती दिएका हुन् । उनले व्यवस्थापनलाई प्रश्न गर्दै भने, ‘‘नगरले गरेन मात्र भन्नुहुन्छ, तपाईहरूले के गर्नु भयो त ! क्याम्पसमा विद्यार्थी कति छन्, एक सय विद्यार्थीले मात्र क्याम्पस चल्छ ?’’
उनले सरोकारवाला व्यवस्थापन समिति, स्थानीय अभिभावक, राजनितिक दल, बुद्धिजीवी सङ्घ संस्था मिलेर क्याम्पस टिकाउनु पर्ने बताए । यसका लागि नगरले चाहिने सम्पूर्ण सहयोग गर्ने बताए तर विद्यार्थी भर्ना बढाउनु पर्ने उनको शर्त थियो ।
बिबिएस सङ्काय मात्र सञ्चालन रहेको क्याम्पसमा पहिलो वर्षमा १६, दोस्रो ३२, तेस्रो २८ र चौथो वर्षमा २७ गरी एक सय तीन जना मात्र विद्यार्थी रहेका छन् । क्याम्पसको झ्याल र रेलिङका लागि चार लाख र रातो किताबमा छ लाख छुट्याइएको भन्दै आर्थिक सहयोगमा नगरले कुनै कन्जुस्याइँ नगरेको नगरप्रमुख कार्कीले जिकिर गरे ।
सभामा नेपाली काङ्ग्रेस वडा नं. १ का सभापति ईश्वर थापा, स्थानीय अभिभावक प्रह्लाद थापा, गोपाल थापालगायतले क्याम्पसलाई आर्थिक भौतिक सहयोग गर्नुपर्ने भन्दै स्थानीय निकायदेखि प्रदेश र सङ्घीय सरकारले उपेक्षा गरेको आरोप लगाए । कार्यक्रममा उदय ठटालले १ करोड रुपैयाँ बढीको आय र पौने ३८ लाख बराबरको व्यय भएको खर्च विवरण पेश प्रस्तुत गरेका थिए । यसै गरी क्याम्पस प्रमुख रमेश चौहानले प्रगति प्रतिवेदन पेश गर्दै विद्यार्थी भर्ना बढाउन शिक्षा सङ्काय सञ्चालनको तयारी भइरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नगरप्रमुख कार्कीले पूर्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर थापा, सदस्यहरू प्रह्लाद भट्टराई र भेषराज घिमिरेलाई सम्मान गरेका थिए । यसै गरी बिबिएस उत्तीर्ण सबिना राउतलाई छ हजार रुपैयाँ र विद्यार्थीहरू कामना झा, वसन्त राई, सर्मिला कार्की, रन्जना राई र सजना खतिवडालाई प्रमाण–पत्रले सम्मान गरिएको व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चन्द्र थापा मगरले बताए ।