दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका बराहक्षेत्र ११ मधुवनका विद्यार्थी राजेशकुमार स्वर्णकारको धार्मिक परम्पराअनुसार शनिबार राति अन्तिम संस्कार गरिएको छ ।
मृत्यु भएको २८ औं दिनमा स्वर्णकारको भौतिक शरीरको अन्त्येष्टि गरिएको छ । राजेशको शव मधुवन आइपुग्दा स्थानीय शोकमा डुबे । एक वर्षमा घर फर्किन्छु भन्दै गएको छोरो कहिल्यै नफर्किने गरी अस्ताएको खबर पाएदेखि स्वर्णकारको घर परिवार विक्षिप्त बनेको थियो । अध्ययन पूरा गरेर परिवारको सपना पूरा गर्ने उद्देश्यले इजरायल पुगेको छोरोको मृत्युको खबर सुनेदेखि पूरै गाउँ, परिवार र आफन्तहरू शोकमा डुबेका थिए ।
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा वराहक्षेत्र मधुवनका स्वर्णकारसमेत थिए । फ्लाई दुवईको जहाजमार्फत स्वर्णकारको शव शुक्रबार राति नेपाल ल्याइएको थियो ।
काठमाडौंबाट स्वर्णकारको शव हिजो विराटनगर ल्याइएको थियो । स्वर्णकारको शव बुझ्न वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीसहित विराटनगर विमान स्थल पुगेका थिए । साँझ नेपाली सेनाको कलसाइन एनए–०४१ जहाजमार्फत शव विराटनगर ल्याइएको थियो ।
विमान स्थलबाट मधुवन घर ल्याएर शनिबार साँझ नै घरबाट शव यात्रा निकालिएको थियो । धार्मिक परम्परा अनुसार सप्तकोसी नदीमा शनिबार राति १० बजे अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
राजेशको कान्छो भाइ चन्दनले राजेशको शवमा दागबत्तीे दिएका थिए । इजरायलमा कृषि इन्टर्नसिप अध्ययनको लागि पुगेको २८ दिनमै प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी राजेशले ज्यान गुमाएका थिए ।
स्वर्णकार सुदूरपश्चिम विश्व विद्यालयको कृषि सङ्काय स्नातक तहको आठौँ सेमेस्टरमा अध्ययनरत थिए । नेपाल इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयबाट उनी इजरायल पुगेका थिए । गत २० असोजमा इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टानी इस्लामिक समूह हमासको आक्रमणमा परी स्वर्णकारसहित १० जना नेपालीको मृत्यु भएको थियो ।
हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् ।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।