धनकुटा । ‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो’ भन्ने नारासहित धनकुटामा आएर धनकुटाका नागरिकलाई पोखरा भ्रमणको निम्ता दिएको छ ।
धनकुटाको होटल मुर्चुङ्गामा आइतबार कार्यक्रम गर्दै होटल सङ्घ पोखराले धनकुटाका नागरिकलाई पोखरा भ्रमणको निम्ता दिएको हो । सङ्घले दुई दशकअघि सुरु गरेको जाउँ है पोखरा अभियान आइतबार धनकुटा आइपुगेको हो । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा कात्तिक १६ गतेबाट कात्तिक २० गतेसम्म सञ्चालन हुने अभियान यो वर्ष जनकपुरबाट सुरु भई विराटनगर, बिर्तामोड हुँदै धनकुटासम्म आइपुगेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उनले अभियानपछि पोखराबाट २ हजार ५ सय पर्यटक धनकुटा ल्याउनेसमेत प्रतिबद्धता व्यक्त गरे । कोभिड– १९ को कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य पनि यस अभियानले लिएको बताए । प्राकृतिक र धार्मिकसहित सहासिक खेल पर्यटनका लागि पोखरा उत्कृष्ट गन्तव्य भएकोे बताउँदै उनले धनकुटा पनि एक
उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले आन्तरिक पर्यटन प्रवद्र्धनमा एक अर्काबीच सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए । उनले पोखरामा पर्यटकका लागि झण्डै ५ खर्बको लगानी भएको जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धनकुटाको पर्यटन विकासका लागि पोखरासँग सहकार्य गर्नुपर्ने बताए । उनले होटल सङ्घ पोखराले सञ्चालन गरेको यो अभियानले आन्तरिक पर्यटनका लागि एक महŒवपूर्ण सुरुवात भएको बताए ।
त्यस्तै धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालले धनकुटाको पर्यटन विकासका लागि यो अभियान महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा धनकुटाका होटल व्यवसायी, उद्योगी, व्यापारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।