धरान । एनसेल आजियाटा लिमिटेडले भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत् दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबैले भाग लिन सक्ने जनाएको छ । दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको तीनदेखि पाँच मिनेटको भिडियो वा चलचित्र प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।
भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने जनाएको छ । उल्लेखित कुरालाई ध्यानमा राखी दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत् उजागर गर्ने प्रतियोगीमध्ये एकले पुरस्कार जित्ने मौका पाउने जनाएको छ । प्रथम हुने व्यक्ति वा समूहले नगद एक लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले उदयीमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताउँदै विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतिमार्फत् देखाउने कला पक्कै राम्रो हुने जनाए । अझै राम्रो पाटो भनेको सधैँ अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिइरहेको उनले जनाए ।
प्राप्त सबै भिडियोहरूमध्ये छानिएका भिडियोहरू भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरूमार्फत् सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरूको समीक्षा र मूल्याङ्कन गर्ने जनाइएको छ । कात्तिक २३ गतेसम्म भिडियो पठाइसक्नुपर्ने जनाएको छ ।