इनरुवा । सुविधा ग्यासमा फेरि पनि तौल कम भेटिएको छ । सुनसरी प्रशासनले गरेको अनुगमनका क्रममा उद्योगमै सिलबन्द अवस्थामा रहेको ग्यास सिलिण्डरको तौल कम भेटिएको हो ।
यसअघि बजारक्षेत्रमा बिक्रीका लागि राखिएका सुविधा ग्यासका सिलिण्डरमा तौल कम रहेको फेला पर्दै आएकोमा यस पटक भने बजार पठाउन तयारी अवस्थामा राखिएका सिलिण्डरको तौल उद्योगमै कम पाइएको हो ।
जनगुनासो बढेसँगै अनुगमनमा निस्केको सुनसरी प्रशासनको टोलीले दुहबी–८ सोनापुरमा रहेको मारुती ग्यास उद्योग प्रा.लि.मा छड्के जाँच गर्दा सुविधा ग्यास सिलिण्डको औसत तौल कमी पाइएको हो । नमुनाका रूपमा ९८ वटा ग्यास सिलिण्डर जोखेको अनुगमन टोलीले खुद तौलभन्दा औसत तौल कम रहेको फेला पारेको हो ।
गुणस्तर तथा नापतौल कार्यालयको टोलीसहित अनुगमनमा पुगेको प्रशासनको टोलीले सिलबन्द रहेका सिलिण्डर दोहोर्याएर तौलेको थियो । सो क्रममा औसत तौल खुद तौलभन्दा २४ ग्राम कम पाइएको थियो ।
अनुगमन टोलीले ग्यास उद्योगका प्रबन्धक रामकुमार श्रेष्ठसहितको उपस्थितिमा सिलिण्डर नापजाँच गरेको थियो । नापतौलका क्रममा पाइएको औसत तौल कमीलाई अनुगमन टोलीले कानूनी रूपमा उद्योगको लापरबाही र गम्भीर कमीकमजोरी भएको ठहर गरेको छ । जसलाई तापतौलका प्रतिनिधिले अनुगमन मूल्याङ्कनको परिणाम फेल पाइएको बताए ।
अनुगमनको नेतृत्वकर्ता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बिक्रीका लागि पठाउने तयारी अवस्थामा रहेका सिलिण्डरको औसत तौल कम पाइएकाले कानून बमोजिमको कारबाहीको प्रक्रिया अघि बढाइने बताए । उनले उद्योगमै त्रुटि भेटिनुलाई गम्भीर लापरबाही भएको बताए । खतिवडाले प्रशासन कार्यालयले गुणस्तर तथा नापतौल कार्यालयलाई अधिकतम् कारबाहीको सिफारिस गर्नेसमेत बताए ।
अधिकृत खतिवडाले गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षकसहितको प्राविधिक टोली स्वयम् उपस्थित रहेर गरिएको अनुगमनका क्रममा उद्योगले उपभोक्ता ठगी गरेको प्रमाण प्रत्यक्ष भेटिएको बताए । उनले मातहतमा सोही बमोजिमको प्रतिवेदन बुझाइनेसमेत जानकारी दिए ।
ग्यास उद्योग अनुगमनमा प्रशासकीय अधिकृत खतिवडासहित गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक रजनिश झा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरी इनरुवाका प्रमुख सङ्गम दाहाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि हरिप्रसाद कोइराला र गुणस्तर तथा नापतौल कार्यालयकै प्राविधिक तथा प्रतिनिधिहरू प्रमोदकुमार यादव र तपेश्वर रायलगायतको उपस्थिति रहेको थियो ।
मङ्गलबार मारुती उद्योगको अनुगमन गरेको सुनसरी प्रशासनले छड्के जाँचलाई निरन्तरता दिइने जनाएको छ । उसले सम्भावित कालोबजारी रोक्न सबैको साथको आवश्यकता आंैल्याएको छ । स्वयम् सचेत र जागरुक रहन जिल्लाबासी समक्ष आग्रह गरेको सुनसरी प्रशासनले कालोबजारीबारे सूचना भएमा जानकारी दिन अनुरोधसमेत गरेको छ ।