विजयपुर । एक महिनाभित्र बजारमा प्याजको मूल्य अचाक्ली वृद्धि भएको छ । मूल्य वृद्धि भए पनि नियमन गर्ने धरान उपमहानगरपालिकाको अनुगमन समितिले चासो नदिएको उपभोक्ताले गुनासो गरेका छन् ।

दश–पन्ध्र दिनअघिसम्म प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म खरिद गर्दै आएको प्याजलाई हाल १ सय ३० देखि १ सय ५० रुपैयाँ पर्न थालेको उपभोक्ताहरूले गुनासो गरेका छन् । मङ्गलबार धरान–३ स्थित पालिका बजारमा भेटिएकी उपभोक्ता सर्मिला लामाले प्याजको मूल्य अत्यधिक वृद्धि भएको बताइन् । उनले भनिन्, ‘दशैँअघिसम्म ८० रुपैयाँमा पाइने प्याजलाई हाल १ सय ४० पर्न थालेको छ ।’ प्याजको मूल्य अत्यधिक वृद्धि भए पनि नियामक निकायले चासो नराखेको उनको गुनासो छ ।

यस्तै धरान–८ की रेखा न्यौपानेले पनि प्याजको मूल्य वृद्धि भएको बताइन् । पालिका बजारमा १ सय ३० रुपैयाँमा खरिद–बिक्री हुने प्याजको अन्य स्थानमा १ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री हुने गरेको छ । पालिका बजारका व्यापारीहरू भने दशैँपछि मूल्य वृद्धि भई १ सय ५० रुपैयाँसम्म पुगेको र हाल प्याजको मूल्यमा गिरावट आएको बताउँछन् । हाल पालिका बजारमा प्रतिकिलो प्याजको मूल्य १ सय ३० रुपैयाँ रहेको व्यापारीहरूले बताएका छन् । कृषिउपज बजार धरानको मूल्य सूचीअनुसार सुकेको प्याजको मूल्य न्यूनतम् १ सय ५ र अधिकतम् १ सय १० रुपैयाँ रहेको छ । त्यस्तै भारतीय सुकेको प्याजको मूल्य न्यूनतम् १ सय ४ र अधिकतम् १ सय १० रुपैयाँ रहेको छ । बजारमा भने प्याजको मूल्य १ सय ३० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ ।

कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले भारतीय बजारमा नै प्याजको मूल्य वृद्धि भएकाले नेपालमा पनि वृद्धि भएको बताए । उनका अनुसार यसअघि कृषिउपज बजार धरानमा प्याजको मूल्य अधिकतम् मूल्य १ सय २५ रुपैयाँसम्म पुगेको थियो । अहिले प्रतिकिलो प्याजको मूल्य १ सय १० रुपैयाँ हुँदा १ सय २० रुपैयाँसम्ममा बिक्री गर्दा पनि व्यापारीलाई नाफा हुने व्यवस्थापक भट्टराईले बताए । उनले भने, ‘सुकेको प्याज भएकाले बिग्रँदैन १ सय २० रुपैयाँसम्ममा बिक्री गर्दा पनि नाफा हुनुपर्ने हो ।’ नियामक निकायले ध्यान दिनुपर्ने पनि उनले बताए । नियामक निकाय धरान उपमहानगरले नियन्त्रणमा चासो नराख्दा उपभोक्ता मारमा परिरहेका छन् ।

धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले यसअघि प्याजको मूल्य वृद्धि हुँदा कडाइका साथ नियन्त्रण गरेको बताए । उनले हालको मूल्य वृद्धिको विषयमा भने अनभिज्ञता प्रकट गर्दै भने, ‘कृषिउपज बजारसँग बुझेर मूल्य वृद्धि नियन्त्रण गर्न लाग्छौँ ।’ कृषिउपज बजारले दैनिक मूल्य सूची प्रकाशित गर्ने गरेको छ । मूल्य वृद्धि प्रकाशित गरेभन्दा २० देखि ४० रुपैयाँसम्म व्यापारीले मुनाफा लिने गरेका छन् । व्यापारीले अत्यधिक नाफा राख्नाले उपभोक्ता मारमा पर्दै आएका छन् ।