धरान । धरानको नमुना विद्यालय पब्लिक हाईस्कुलले विद्यार्थीहरूको पढाइ सुधार्न अभिभावक, विद्यार्थी र शिक्षकका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरेको छ ।
बुधबार विद्यालयमा अभिभावक र विद्यार्थीका लागि छुट्टा–छुट्टै उत्प्रेरणा कक्षा सञ्चालन गरियो । आज (बिहीबार) पब्लिक हाईस्कुलका शिक्षक र धरानका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि पनि उत्प्रेरणा कक्षा सञ्चालन हुने पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले जानकारी दिए ।
बुधबार बिहान अभिभावकहरूका लागि सञ्चालन गरिएको ‘द आर्ट अफ जोयफुल प्यारेन्टिङ एन्ड मोटिभेन्सनल प्रोग्राम’ मा सयभन्दा बढी अभिभावक सहभागी थिए । अभिभावकले घरमा विद्यार्थीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा सहजकर्ता प्रितम पौडेलले सहजीकरण गरेका थिए । उनले बालबालिकालाई अभिभावकले पढाइमा प्रोत्साहन गर्न ऊर्जा दिनुपर्ने र सधैँ सकारात्मक सोचको विकास गर्नुपर्ने बताए । उनले भने, ‘बच्चाहरू पिटेर सुध्रिँदैनन् । उनीहरूलाई सकारात्मक प्रभाव पारेर सुधार गर्न सकिन्छ, नियन्त्रण गर्न सकिँदैन ।’
अभिभावकसँग भएको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले उत्प्रेरणा कार्यक्रमले अभिभावकको मनस्थिति परिवर्तन गर्ने विश्वास व्यक्त गरे । उनले अहिलेको समयमा अभिभावकहरूले छोराछोरीको रुचिको विषयमा पनि ध्यान दिनुपर्ने बताए ।
बुधबार दिउँसो विद्यार्थीहरूका लागि ‘पोजिटिभ भाइब्रेसन एन्ड मोटिभेसनल ट्रेनिङ’ सञ्चालन गरिएको थियो । कार्यक्रममा एक सय पचासभन्दा बढी विद्यार्थी सहभागी थिए । सो कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले पब्लिक हाईस्कुलले सञ्चालन गरेको उत्प्रेरणा कार्यक्रमले शैक्षिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि कार्की, शिक्षक अभिभावक समिति अध्यक्ष राजेन्द्र किराती र प्रधानाध्यापक झाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।