धरानको कृषि बजारमा सयपत्री फूलको कारोबार हालसम्मकै सस्तोमा भएको छ ।
बजारमा ल्याइएको फूल बिक्री नहुँदा कृषक चिन्तित बनेका छन् । 'फूल नबिकेर कृषकको रुवाबासी छ ।' धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने । आज आइतबार सयपत्री फूल प्रतिमुठा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म बिक्री भएको छ ।
कृषि बजारमा फूल बिक्री नहुँदा कृषकले घरघर डुलाएर बिक्री गरेको कृषक कुमार मगरले बताए । उनले नाफा कमाउने भन्दा पनि घाटा कम गर्न घरघर डुलाएर बेच्न बाध्य भएको बताए ।
कृषि उपज बजारसँगै धरानको भानुचोक, पालिका तरकारी बजार, नयाँ बजारस्थित सब्जी बजारमा नेपालमै उत्पादन भएका फूल प्रशस्त मात्रामा बिक्रीका लागि ल्याइएका छन् ।
विगत वर्षका तिहारमा प्रतिमुठा १ सय रुपैयाँसम्म खरिद गरेका उपभोक्ताले यस वर्ष प्रतिमुठा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म खरिद गरेको उपभोक्ता रिता खड्काले बताइन् ।
यस वर्ष धरानको कृषि बजारबाट अनुमानित साढे ४ लाख रुपैयाँको फूलको मालाको कारोबार भएको कृषि बजारका व्यवस्थापक भट्टराईले जानकारी दिए ।
धरानस्थित कृषि बजारमा धनकुटा, तेह्रथुम, संंखुवासभालगायत पहाडी क्षेत्रबाट साथै धरानको ४, ५, ६ र २० नम्बर वडाका कृषक तथा व्यापारीले फूल बिक्रीका लागि कृषि बजारमा ल्याएका छन् ।