यमपन्चकअन्तर्गत गाईपूजाका दिन बर्सेनि धरानको भानुचोकमा हुँदै आएको सामूहिक गौपूजन घण्टाघर परिसरमा रहेको गणेश मन्दिरमा आयोजना गरिएको छ ।
ॐकार परिवारको आयोजनामा बिहान ८ बजेदेखि मध्याह्नसम्मा आयोजना हुने प्रशासन नियन्त्रित गौपूजनमा सयौं श्रद्धालु भक्तजनको उपस्थिति रह्यो ।
परापूर्व कालदेखि गौपूजन गरिरहेका तर गौसेवा गर्न नसकेकाहरुको सहजताका लागि बर्सेनि गाई पूजा कार्यक्रम आयोजना गरिरहेको र त्यसैको निरन्तरता यो वर्ष पनि दिइएको विजयपुर धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका सचिव मातृकाप्रसाद नेपाल जानकारी दिए ।
व्यापक गौपूजन समारोह गर्ने कार्यक्रमको उद्देश्य रहे पनि प्रशासनको आग्रहमा निरन्तरताका रुपमा मात्रै आयोजना गरिएको सचिव नेपालले बताए ।
'देखाउने हिसाबले नगर्न, मौलिक रुपमा चाडपर्व मनाउन प्रशासनले अनुरोध गरेकाले गणेश मन्दिर परिसरमा आयोजना गरिएको हो,' सचिव नेपालले भने, 'धरानको स्थिति तरल रहेको प्रशासनको बुझाइ छ ।'
प्राध्यापक पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यतामा आयोजितगौपूजन कार्यक्रममा धरानका सबै मठ मन्दिरका प्रतिनिधिको उपस्थिति रहेको संयोजक जुद्ध लोहनीले जानकारी दिए ।
धरानका डिएसपी नवराज मल्लले सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमले सडक आवागमन र चाडवाडमा भीडभाड हुने भएकाले घण्टाघरभित्र गाईपूजा कार्यक्रम आयोजना गर्न आग्रह गरिएको बताए । उनले आदेशअनुसार धरान प्रहरीले काम गरेकाले प्रशासनको नियन्त्रणका सम्बन्धमा माथिल्ला निकायमा बुझ्न संचारकर्मीसँग अनुरोध गरे ।