घरमा हुने धार्मिक कार्य, शुभकार्य तथा खुसीयालीमा परापूर्व कालदेखि प्रयोगमा आइरहेको माटोको पाला र दियो प्रयोगको प्रचलन हराउँदै आएको छ । 

धार्मिक कार्यका लागि महत्वपूर्ण रहेको दियो र माटाको पालालाई प्लास्टिक र चिनियाँ विद्युतीय सामग्रीले प्रतिस्थापन गर्दै आएपछि माटोका पालासमेत हराउँदै गएका छन् । झिलिमिली र उज्यालो पर्वको रुपमा मनाइने तिहार अर्थात् दिपावली पर्वमा घरको चारै दिशामा दियो बाल्ने परम्परा रहेको छ। घरको चारै कुना दियो बालेर उज्यालो बनाउँदा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहिआएको छ। माटोको पाला र दियोको प्रयोग तिहारका अवसरमा बढी नै प्रयोग हुँदै आएकामा अहिले कम हुँदै आएको छ। 

कुनै समय बजारमा निकै बिक्री हुने गरेको दियोको माग हाल घट्दै गएको व्यवसायीले गुनासो गरेका छन्। सबैभन्दा बढि दियोको प्रयोग हुने चाड तिहारमा समेत माटाको दियो बिक्री नहुँदा व्यापारी चिन्तित बनेका छन् ।

धरान – ३ मा माटाको पाला व्यवसाय गर्दै आएकी कुमारी पण्डितले व्यवसाय खस्केको बताइन् । दसैं–तिहार र छठ पर्वमा उनको व्यवसाय सदाभन्दा बढी हुने गरेको थियो । सुनसरीकै बर्जु गाउँपालिकाबाट तिहार र छठ पर्वका अवसरमा ५–६ बोरासम्म माटोको पाला बिक्री गर्ने उनी साविकझैं व्यापार नहुँदा चिन्तित बनेकी छन्। 

‘आजभोलि १ बोरा पालासमेत मुस्किलले बिक्री हुने गरेको छ,’ दशक बितिसक्दा पनि पालाको मूल्य स्थिर रहेको र व्यवसायमा ह्रास आएको बताउँदै कुमारीले भनिन्, ‘पहिले–पहिले पनि दियोको मूल्य प्रतिदर्जन २५ रुपैयाँदेखि ३० रुपैयाँ पथ्र्यो, अहिले पनि पुरानै मूल्यमा बिक्री गर्दा नाफा हुने कुरै भएन, हाम्रो पुरानै पेशा भएकोले यो वर्ष पनि दियो बेच्न ल्याएको छु, तर बजारमा पाइने बिजुली बत्तीका कारण मान्छेहरुले किन्नै छोडे।’ लक्ष्मीपुजाको दिन अली बढि दियो बिक्र हुन्छकी भनेर आश गरे पनि सोचे जस्तो दियोको ब्यापार नभएको उनि बताउँछिन्।

1699509033287

विद्युतीय बत्ती बजारमा सहजै उपलब्ध हुने कारणले प्रतिस्थापित माटाका पाला र दियोको आजभोलि बिक्री कम छ। धरानमै पालाको व्यवसाय गर्ने अर्का व्यापारी सौजन शाक्यको अनुभव पनि उस्तै छ । इनरुवादेखि २ बोरा पाला ल्याएका उनले व्यापार कसरी गर्ने भन्ने चिन्ताले सताएको बताए। ढुवानी खर्चसमेत उठ्न नसकेको उनको भनाइ छ । 

दिपावली र छठ पर्वलाई मध्येनजर गरेर इनरुवा नगरपालिका, बर्जु गाउँपालिकालगायतका तराईदेखि व्यापारी धरान आउने गरेका छन्। 

पहिले शहरमा मात्रै बिजुली बत्ती हुने गथ्र्यो । अहिले गाउँघरमा बिजुली बत्तीको पहुँच पुगेको छ।आम मानिस सुविधाभोगी भएकाले माटोको दियोलाई झन्झटिलो मान्ने गरेको उपभोक्तासमेत बताउँछन् । ‘पहिले बिजुली बत्ती नहुँदा माटाको दियो, धुपौरो सालैपिच्छे किनिन्थ्यो, बिजुली बत्ती आएपछि त्यसैबाट बल्ने झिलिमिली पनि आउन थाल्यो, अहिले त्यही प्रयोग गर्छौं ।’ तिहारका लागि सजावटका सामग्री खरिद गर्न बजार आएकी धरान–१५ निवासी सुष्मा कार्कीले भनिन् ।

माटोको दियो बाल्दा आगलागीको डर हुने तर बिजुलीबाट चल्ने झिलिमिली किन्दा अर्को पटक पनि प्रयोग गर्न सजिलो हुने, खानेतेल जोगिने, हावाले पनि ननिभाउने भएकाले आफूले विद्युतीय सामग्री नै किन्ने गरेको सुष्मा बताउँछिन्। ‘केटाकेटीले चलाउलान भन्ने डर पनि नहुने ।’ उनले भनिन् ।