भद्रपुर । भारतको पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो मेची भन्सारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा लक्ष्यको ८२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयबाट गत साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा ४ अर्ब ११ करोड १ लाख ७१ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलनको लक्ष्य थियो । तर, ३ अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । कार्यालयले असोज महिनामा लक्ष्यको तुलनामा ७५ दशमलव ९२ प्रतिशतमात्र राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । असोजको एक महिनामा १ अर्ब १७ करोड ७७ लाख ३४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । असोजको लक्ष्य १ अर्ब ५५ करोड १२ लाख ९६ हजार रुपैयाँ थियो । जुन रकम लक्ष्यको तुलनामा ३७ करोड ३५ लाख ६२ हजार रुपैयाँ कम हो ।
काँकडभिट्टानाका हुँदै अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्ट क्लिङ्कर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरूलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरू, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरू नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् । मेची भन्सार कार्यालय काँकडभिट्टा पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । यो नाका भएर भारत, भुटान बङ्गालदेशसँग व्यपार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकडभिट्टाबाट हुने गरेको छ ।