विराटनगर । चाडपर्वको मौका छोपी पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ ।
तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो । सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचाबाट चोरी–तस्करी भएर टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ । सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको पाँच वटा टुना ३८.९६ क्यु.फिट सालको काठ सुन्दरहरैँचा–१ हरैँचाबाट बिहान १ बजे बरामद गरिएको सव–डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । टुना बोकेको को.१ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैँचा–१ हरैँचास्थित नेहा स–मिलका सञ्चालक विन्धेश्वर साहलाई पनि नियन्त्रणमा लिएको वन अधिकृत माझीले जानकारी दिए ।
बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याएपछि पक्राउ गरिएको उनले बताए । ‘राति जङ्गलमा टिपर लगेर काठ चोरी–पैठारी गरिएको पाइएको छ । शुक्रबार राति ९ देखि १० बजेतिर टिपरमा काठ लोड गरेपछि हामीलाई विशेष सूचना आएको थियो । हामीले फलो गर्दै मिलमा अनलोड गर्दैगर्दा टिपर र मिल सञ्चालकलाई नियन्त्रणमा लिन सफल भएका छौँ’ वन अधिकृत माझीले भने, ‘टिपर चालक फरार भएका छन् । हामीले खोजी कार्य तीव्र बनाएका छौँ ।’ वनको काठ चोरी–पैठारीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘अहिले मिल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । वनको काठ चौरी–पैठारीमा संलग्न सबै कारबाहीको दायरामा आउनेछन् । अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि संलग्न सबै कानूनी फन्दामा पर्नेछन् ।’ मिल सञ्चालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि शिलबन्दी गरी अनुसन्धान सुरु गरेको बताएको छ । ‘अनुसन्धानको प्रक्रियाभरि यो मिल सञ्चालन हुने छैन’ उनले भने, ‘अनुसन्धान प्रक्रिया पूरा गरेपछि अहिले गरिएको शिलबन्दी खुल्नेछ ।’
पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन वन कार्यालयले वन ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । पछिल्लो समय वनरक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । सव–डिभिजन वन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षा बढाएको जनाएको छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।
यसअघि कानेपोखरी गाउँपालिकाभित्र पर्ने सामुदायिक वन क्षेत्रबाट पनि चोरी तस्करी भएर मिलमा पु¥याएको काठ बरामद भएको थियो । कानेपोखरी गाउँपालिकाभित्र तीन वटा सामुदायिक वन तीन क्षेत्रमा रहेका छन् । त्यहाँका ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २ र ३ छन् । यी तीन वटै सामुदायिक वनबाट रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । राति आठ बजेपछि र बिहानीपख तस्करी धन्दामा लाग्ने गिरोह चारकोसे जङ्गलभित्र प्रवेश गरेर सालको काठ तस्करी गरी स्थानीय काठ मिल र फर्निचरमा पु¥याउन सक्रिय रहेको पाइएको हो । तस्करहरूले रुख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र गन्तव्यसम्म पु¥याउने छुट्टै समूह प्रयोग गर्दछन् । यसरी सामुदायिक वनभित्रबाट चोरी भएको ४४ क्यु.फिट सालको काठ केही महिनाअगाडि बरामद भएको थियो ।
कानेपोखरी–४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वनका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यु.फिट सालको काठ कानेपोखरी–५ र ६ नं. वडाबाट बरामद गरेको हो । यसअघि पनि ग्रामीण सुधार सामुदायिक वनबाट चोरी तस्करी भएर गएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो । सामुदायिक वनको आन्तरिक समस्याका कारण ग्रामीण सुधार वनबाट पाँच वर्षदेखि जङ्गलभित्र लडेका रुखहरूको घाटगद्दी हुन सकेको छैन । लडेका रुखहरू जङ्गलभित्र रहँदा चोरी तस्करी धन्दामा पल्किएको समूहको नजर सालको काठमा परेको स्थानीयबासी बताउँछन् । ग्रामीण सुधार सामुदायिक वनभित्र अधिक मात्रामा सालको काठ छ ।