सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ तोकिएको थियो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
सामाजिक सद्भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुर्याएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो । टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।
प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको थियो ।