विराटनगर । विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजित जाना साढे ६० लाख बढी धरौटी रकम बुझाएर रिहा भएका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले पक्राउ परेका जानालाई ६० लाख ५० हजार ७ सय ५० रुपैयाँ धरौटी रकम तोकेका थिए । भन्सारले तोकेको धरौटी रकम बुझाएर ज्वेलर्सका सञ्चालक जाना रिहा भएको विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

कात्तिक २१ गते जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले अवैध एक क्वीन्टल चाँदीको गरगहना र १३ तोला सुन बरामद गरेको थियो । बरामद भएको चाँदी र सुनको परिमाण एकिन गर्न राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवम् गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको छ । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । ‘चाँदी तथा सुनबाट तयार गरिएका वस्तु जस्ताको तस्तै तौल लिँदा एक क्वीन्टल बराबरको रहेको छ’ भन्सार प्रमुख ढकालले भने, ‘त्यसलाई गालेपछि मात्रै एकिन परिणाम थाहा हुन्छ ।’ गालेर गहना तथा विभिन्न सामग्री बनाउँदा प्रयोग गरिएको रसायन छुट्याएपछि मात्रै चाँदी र सुनको वास्तविक परिमाण पत्ता लाग्ने उनले बताए । ‘त्यसैले बरामद भएको सबै मालवस्तु राष्ट्र बैङ्कले गालेर परिमाण एकिन गर्नेछ । गालेर चाँदी र सुनको एकिन परिमाण पत्ता लगाउन राष्ट्र बैङ्कमा पठाएका छौँ’ उनले भने, ‘केही दिनमा चाँदी र सुनको एकिन परिमाण पत्ता लाग्नेछ ।’

चाँदी र सुनको मूल्य पनि एकिन भइसकेको छैन । नेपाल सुन–चाँदी व्यवसायी सङ्घले त्यसको मूल्य एकिन गर्ने उनको भनाइ छ । भारतको कोलकाता घर भएका जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन(चाँदी पसलमा सरकारी टोलीले छापा हानेर सुन(चाँदीका अवैध गहना र सामग्री बिहीबार बरामद गरेको थियो ।

ज्वलेर्समा छापा हान्दा ठूलो परिणाममा चाँदी र सुनका गहना एवम् त्यसबाट बनाइएका विभिन्न सामग्री बरामद भएको थियो । चाँदीबाट बनेका पाउजु, ब्रासलेट, औंठी, दियो, करुवा, लोहोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री एवम् गरगहना र सुनबाट बनेका मङ्गलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेससमेतका गहना बरामद भएको भन्सार कार्यालयले जनाएको छ । ज्वेलर्समा छापा हान्दा बिल वीजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको हो ।

चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथलाई पनि पक्राउ गरिएको थियो । उनीविरुद्ध सुन–चाँदीको अवैध कारोबारमा मुद्दा चलाएको छ । यो मुद्दा फैसला हुन समय लाग्ने बताइएको छ । जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाइ’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन(चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो ।

जानाको ज्वेलर्समा छापा हान्नेवित्तिकै विराटनगरका केही ज्वेलर्स सञ्चालकहरू आफ्नो पसल बन्द गरेर भागेको बताइएको छ ।