इनरुवा । सुनसरीको खनार र दुहबीमा हुने भनिएको मुस्लिम धर्मसभा ‘इज्तेमा’ रोक्न राजनैतिक दलहरूले संयुक्त अपिल जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले मुलुकको विषम परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ख्याल राख्दै इज्तेमा कार्यक्रम स्थगित गर्न संयुक्त अपिल गरेको हो । कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा पुगेको आयोजक समूह पक्ष र विपक्षमा उभिने सम्भावना बढेको निष्कर्षसहित जिल्लास्थित प्रमुख राजनैतिक दलले सामाजिक र धार्मिक सद्भाव कायम राख्न आग्रहसहितको संयुक्त अपिल जारी गरेका हुन् ।
दलद्वारा जारी अपिलमा गृह मन्त्रालयले समेत कार्यक्रम सञ्चालनको इजाजत नदिएको अवस्थामा जबरजस्ती कार्यक्रम आयोजना गरिए त्यसले दुर्घटना निम्तिन सक्ने आशङ्का जनाइएको छ । मुलुकको वर्तमान परिस्थिति र घटनाक्रमका बीच आयोजना हुने ठूला कार्यक्रममा उच्छृङ्खल तत्वको घुसपैठ र अबाञ्छित गतिविधिको सम्भावना रहने जिल्लास्थित प्रमुख दलको ठहर छ ।
सोही कुरालाई मध्यनजर गर्दै दुहबी र खनारमा आयोजना गर्न लागिएको इज्तेमा कार्यक्रम तत्काललाई स्थगन गर्न संयुक्त अपिलमार्फत् आग्रह गरिएको नेकपा (एमाले)का जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले बताए । सर्वदलीय भेलामा नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मनोजकुमार चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वेलगायतको उपस्थिति रहेको थियो । सुनसरीको खनारमा मङ्सिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागेका थिए । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसिकने जनाएको थियो ।
गृहको पत्रका आधारमा सुनसरी प्रशासनले कार्यक्रमको इजाजत दिन नसकिने जनाएपछि आयोजकले तोकिएको परिधिमा रही इज्तेमा सञ्चालनको माग गरेको थियो । जसका लागि मुस्लिम अगुवाहरूले केन्द्र तहमै पहल थालेका थिए । दोस्रो प्रयासमा समेत गृह मन्त्रालयबाट कार्यक्रम सञ्चालनको इजाजत नपाएपछि मुस्लिम अगुवाहरू गफार अन्सारी, ऐयुब अन्सारी, हाजी अब्दुल, अलाउद्दिन मियाँ, मेहदी हुसेनलगायतले सरकारी निर्णय स्वीकार्दै तत्काललाई कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगिएको भन्दै प्रशासनलाई कार्यक्रम स्थगन हुने प्रतिबद्धता जनाएका थिए ।
यद्यपि कार्यक्रम स्थगनका सम्बन्धमा अधिकांश मुस्लिम अगुवाले समर्थन जनाए पनि अगुवामध्येका केहीले भने सरकारले इज्तेमा रोकेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् । सोही विषयलाई जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका रूपमा हेरेको दलका नेताहरूको बुझाइ छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारी निर्णय सबैका लागि मान्य हुने भएकाले आयोजक पक्षले इज्तेमा कार्यक्रम रोक्नेमा विश्वस्त रहेको बताइन् । उनले सुरक्षा संवेदनशीलताका कारण गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्न र गराउन आदेश गरेकाले आफूहरूले आयोजक पक्ष समक्ष सो को कार्यान्वयनमा जोड दिएको बताइन् ।
प्रजिअ पाण्डेले जिल्लास्थित राजनैतिक दलहरूको तर्फबाट समेत संयुक्त अपिल जारी भएको र मुस्लिम अगुवाहरूले समेत सरकारी निर्णय स्वीकार्ने बताएको हुनाले आयोजक पक्षले कार्यक्रम रोक्नेमा सुनसरी प्रशासन पूर्ण विश्वस्त रहेको बताइन् । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले समेत सरकारी निर्णय कार्यान्वयन गर्ने र गराउने सन्दर्भमा आयोजकसहित सबै पक्षको साथ र सहयोग हुनेमा विश्वस्त रहेको बताए । उनले इजाजत विना कुनै पनि कार्यक्रम गर्न र गराउन नपाइने भएकाले आयोजकले मुलुकको विषम परिस्थितिलाई बुझेर कार्यक्रम पूर्ण स्थगन गर्नेमा आश्वस्त रहेको बताए ।