विषय प्रवेशः
हालै सरकारले टिकटक बन्द गरेपछि विरोध र समर्थन सँगसँगै आइरहेको छ । कतिपयले यसलाई असाध्यै सकारात्मक कदम भनेर सरकारको गुणगान गाइरहेका छन् । तर, कतिपयले बन्द गर्ने सरकारी निर्णयको विरोध गरिरहेका छन् । अर्थात् टिकटक बन्द गर्ने सरकारको निर्णय हाम्रो सामाजिकी र उठबसको खपत बनिरहेको छ । झुपडीदेखि सिंहदरबार, ठूला होटलदेखि चिया पसल अनि केन्द्रदेखि टोलसम्म टिकटककै विषयमा चर्चा परिचर्चा भइरहेको छ । कतिपयले बुझेर समर्थन गरिरहेका छन् भने कतिपयले नबुझेर विरोध गरिरहेका छन् । यता कतिपयले बुझे पनि वा नबुझे पनि आप्mनो निहीत निजी स्वार्थमा विरोध र समर्थन गरिरहेका छन् ।
वस्तुतः विश्व समाजको अभिन्न अङ्ग बनिसकेको टिकटकजस्ता सामाजिक सञ्जालहरू बन्द गर्नु राम्रो होइन । यसमा कसैको दुईमत छैन । सरकारलाई पनि यो कुरा पक्कै थाहा छ । प्रविधिको अधिकतम् प्रयोग, परिचालन र उपयोगले नै आजको उत्पादन पद्दतिमा अब्बल हुन सकिन्छ । २१ औं शदीको विश्वव्यवस्था प्रविधिको अधिकतम् प्रयोगद्वारा निर्देशित रहेको छ । अर्थात् प्रविधिको उचित अन्वेषण, उपयोग र परिचालनबाट नै उत्पादन प्रक्रियालाई समय सापेक्ष विकास गर्न सकिन्छ । विश्वजगत्मा प्रतिस्पर्धा गर्न सकिन्छ । प्रविधि विनाको विश्व मानव समाजको कल्पना पनि गर्न सकिन्न । यद्यपि टिकटक बन्दपछिको समर्थन र विरोधमा अन्तरनिहीत कारणहरूबारे यस आलेखमा चर्चा गरिएको छ ।
सरकारी निर्णयः
सरकारले टिकटक बन्द गरेको छ । सरकारको यस्तो निर्णय आजको दुनियाँमा विज्ञान र प्रविधिको उपयोग गर्दा फाइदा हुन्छ भन्ने न्यूनतम् ज्ञान नभएर होइन । डिजिटल युगबाट रोबोटिक र सेन्सर युगमा प्रवेश गर्दै गरेको विश्व समाजमा जिम्मेवार सरकारले लहड र सनककै भरमा बन्द गर्ने कुरा आउँदैन । सामाजिक सञ्जालको अर्थ र औचित्य नबुझेर बन्द गरेको पक्कै पनि होइन । आजको भूमण्डलीकृत विश्वमा सूचना प्रविधिको महŒव कति धेरै छ भन्ने ज्ञान नभएर पनि होइन । टिकटकजस्ता सामाजिक सञ्जालहरूले समाजमा पु¥याइरहेको सकारात्मक भूमिकालाई नजरअन्दाज गर्न खोजेको पनि होइन । खासगरेर सरकारले सबै पाटा र पक्षहरूको गहिरो अध्ययन र मनन् गरेर नै बन्द गर्नुपर्ने बाध्यात्मक स्थितिमा पुगेको हुनुपर्दछ ।
वस्तुतः सरकारले टिकटक बन्द गर्नुको मुख्य कारण भनेको यसको उपयोगले संस्कृति विकृत बन्दै जानु हो । कुनै पनि वस्तुको सकारात्मक र नकारात्मक पक्ष सँगसँगै आउने गर्दछ । यो द्वन्द्ववाद हो । त्यस्तै टिकटकको पनि सकारात्मक र नकारात्मक दुवै आयामहरू छन् । यसमा सकारात्मक पक्ष हाबी भएसम्म अधिकतम् उपयोगमा जोड दिने कुरा हुन्छ अनि नकारात्मक पक्ष हाबी भए बन्द गर्नुपर्ने हुन्छ । अर्थात् यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने हुन्छ । किनकि यसलाई हाम्रो जीवन व्यवहारलाई उत्पादनमुखी बनाउन सदुपयोग गर्ने हो दुरुपयोग होइन । विज्ञान र प्रविधिको दुरुपयोग गर्नु हुँदैन । प्रविधिको सदुपयोग गर्नु भनेको उत्पादन वा निर्माणसँग जोडिन्छ । तर, दुरुपयोग भनेको ध्वंश र पतनसँग जोडिन्छ । यसकारण प्रविधि मात्र भनेर हुँदैन । यसको सदुपयोग र दुरुपयोगबारे पनि न्यूनतम् सचेतना राख्नु पर्दछ । तबमात्र यसलाई मानव हितजन्य उत्पादनमा लगाउन सकिन्छ । मानव समाजको गतिशीलतासँग एकाकार गर्न सकिन्छ । तर, आँखा चिम्लिएर यसको अत्यधिक दुरुपयोग गर्नु भनेको पतन र ध्वंशको बाटोमा लाग्नु हो । यसकारण टिकटक वन्द गर्ने सरकारी निर्णय सही, वस्तुवादी र सकारात्मक छ । यसमा हामी सबै सचेत नागरिकहरूले साथ र सहयोग दिनु पर्दछ ।
आग्रही र पूर्वाग्रही मनोविज्ञानः
आजको विश्व समाज निरपेक्ष नकारात्मकताद्वारा निर्देशित रहेको छ । यसरी नकारात्मकताले नेतृत्व गरेको समाजमा कुनै पनि कार्य, वस्तु, व्यक्ति र सत्ताप्रति आलोचनात्मक धारणाहरू बन्दैन । द्वन्द्वात्मक नजरबाट हेर्ने गरिँदैन । यसमा कि त निरपेक्ष विरोध कि त निरपेक्ष समर्थन गर्ने गरिन्छ । अर्थात् आलोचनात्मक दृष्टिकोणको संस्कृति हुँदैन । समर्थन र विरोध पनि सही र गलतको आधारमा गरिँदैन । चरम् व्यक्तिवादी वा संस्थावादी स्वार्थको चौघेरामा समर्थन र विरोधलाई सीमित गरिन्छ । तब कुन व्यक्ति, संस्था र सवालहरू कति कारणले सही र कति कारणले गलत भन्ने स्पष्ट मार्गचित्र हुँदैन । यस्तो वस्तुगत परिस्थितिमा हल्लाकै भरमा सही गलतमा अनि गलत सहीमा दर्ज हुने खतरा हुन्छ । आज हाम्रो समाजको समर्थन र विरोधको संस्कृति यही मूल्यमा आधारित रहेको देखिन्छ, जसले हाम्रो समाजमा सही र गलत बीचको लक्ष्मणरेखा पनि स्वार्थको आधारमा विन्यास गर्ने गरिन्छ ।
यहाँ दलीय आधारमा आग्रह–पूर्वाग्रह राख्ने गरिन्छ । सही र गलत अनि फाइदा र नोक्सानभन्दा पनि व्यक्तिगत, दलगत, क्षेत्रगत र संस्थागत आधारमा समर्थन र विरोधको सीमारेखा कोर्ने गरिन्छ । यही मेसोमा टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध भइरहेको छ । उनीहरूलाई पनि थाहा छ कि टिकटक विकृत बन्दै गइरहेको छ । तर, पनि जनमानसमा नकारात्मक धारणा निर्माण गर्न सहयोग पुगोस् भनेर जसरी पनि विरोधको भाषा बोल्ने गरिन्छ । यसलाई आग्रही, पूर्वाग्रही र चुनावकेन्द्रित विरोध भनिन्छ । यस्तो विरोध अरूलाई खुइल्याउन सहयोगी हुन्छ । वास्तवमा रचनात्मक विरोधले रूपान्तरण वा सच्चिने अवसर प्रदान गर्दछ । यसकारण विकास, प्रगति र रूपान्तरणको लागि सिर्जनात्मक र रचनात्मक विरोध र खबरदारी अनिवार्य हुन्छ ।
मतदाता भड्किने भयः
नेपाली समाजमा टिकटकलगायतका सामाजिक सञ्जाल दुरुपयोग भइरहेको प्रायः सबैलाई राम्ररी थाहा छ । उनीहरू बन्द कोठामा, परिवार र बालबच्चासँग यसको बढ्दो दुरुपयोगबारे घण्टौँ प्रवचन दिन्छन् । यसको समय र पढाइ मात्र होइन, जिन्दगी नै बर्बाद हुन्छ भनेर पढाउँछन् । चिया पसलमा सामाजिक सञ्जालको विकृत प्रयोगबारे आदर्शको बखान छाँट्छन् । अर्थात् उनीहरू टिकटकलगायतका सामाजिक सञ्जाल विकृत बन्दै गइरहेकोमा पनि स्पष्ट छन् । यही मात्रामा यसको दुरुपयोग गर्ने हो भने भोलि अनुशासन, इमान, जमान, विवेक र नैतिकता केही बाँकी रहँदैन भनेर चिन्ता र चासो पनि व्यक्त गर्छन् । टिकटकको सकारात्मक तथा नकारात्मक भूमिकाबारे पनि जानकार नै छन् । तर, पनि बन्द गर्ने सरकारी निर्णयको भने एकाएक विरोध गर्छन् किन ?
यसमा एकातिर दलीय तथा व्यक्तिगत आग्रह र पूर्वाग्रह जिम्मेवार देखिन्छ । अर्कोतिर आज राजनीति व्यापार व्यवसायजस्तो भइरहेको छ । आवधिक चुनाव भनेको लोकसेवाको विज्ञापनजस्तो बनेको छ । यस्तो वस्तुगत धरातलमा मतदातालाई केन्द्रमा राखेर धारणाहरू निर्माण हुने गर्दछ । यहाँसम्म कि मतदाताहरू पट्टिन्छन् भने सहीलाई गलत र गलतलाई सही भनेर पनि आप्mनो वशमा राख्ने रणनीति आजकल सामान्य भइरहेको छ । अर्थात् सही र गलत पनि आप्mनो स्वार्थ र फाइदाले निर्धारण हुन थालेको छ, जुन सोह्रै आना गलत हो । त्यसैले टिकटक विकृत र विसङ्गतिपूर्ण बन्दै गइरहेको सबैलाई थाहा छ । त्यसमा पनि राजनीति कर्मीहरूलाई त झन् थाहा नहुने कुरै आउँदैन । तर, गलत नै भए पनि मतदाता भड्किने भयले त्यसको विरोध गरिरहेको स्पष्टै देख्न सकिन्छ ।
व्यवसाय र लतः
कतिपय यस्ता पात्र र संस्थाहरू पनि छन्, जसले टिकटकलगायतका सामाजिक सञ्जाललाई कमाइ खाने भाँडो बनाइरहेका छन् । रोजीरोटी यसैको सदुपयोग र दुरुपयोगमा निर्भर छ । उनीहरूले आप्mनो रोजगारी गुम्दा रोइलो गर्नु स्वभाविक हुन्छ । उनीहरूलाई टिकटकले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा कुनै मतलव छैन । उनीहरूलाई केवल आप्mनो व्यवसाय, नाफा र कमाइसँग मात्र सरोकार रहेको हुन्छ । उनीहरूलाई विषयवस्तुको सिर्जनशीलता र उपयोगितासँग सरोकार छैन । चोटिलो र घोचिलो भिडियो क्लिप राखेर भए पनि दर्शक बढे भयो अनि भाइरल भए पुग्यो, जसले धेरै नगदनारायण आर्जन गर्न सकियोस् । अर्कातिर टिकटकलगायतका सामाजिक सञ्जाल प्रयोगमा लत बसेका मानिसहरू पनि सरकारी निर्णयको विरोधमा देखिन्छन् । उनीहरूलाई समाजको लागि सिर्जनशील र रचनात्मकता के हो केही मतलव हुँदैन । सही–गलत र साफा–नाफा कुनै सरोकार छैन । साथीभाइहरूसँगको भलाकुसारी, मायापे्रम र मनोरञ्जन गर्न पाए भयो । यसरी लतमा नराम्ररी फसेकाहरूले पनि मनोरञ्जनको स्वार्थमा बन्दको विरोध गरिरहेका छन् ।
निष्कर्षः
त्यसैले टिकटक बन्द गर्ने सरकारी निर्णयको निरपेक्ष विरोध र समर्थनमा समय खेर नफालौँ । बरु टिकटकलगायतका सामाजिक सञ्जालहरूको सदुपयोग हुँदैछ कि दुरुपयोग भन्नेबारे गम्भीर अध्ययन र अनुसन्धान गरौँ । सहीलाई सही र गलतलाई गलत भन्ने आलोचनात्मक संस्कार बसालौँ । स्वार्थ र आग्रहको भरमा गलत र विकृत संस्कृतिलाई प्रश्रय पुग्ने गरी विरोध र समर्थन नगरौँ । विरोध गरे पनि रचनात्मक र सिर्जनशील विरोध गरौँ, जसले गलतलाई सही दिशातर्पm रूपान्तरण गर्ने हैसियत राख्दछ । टिकटकको दुरुपयोगबारे जानकार हुँदाहुँदै पनि दलीय आग्रह र चुनावी मतदाता भड्किन्छ कि भनेर बन्दको विरोध नगरौँ । अर्थात् चुनाव जित्ने निहीत र निकृष्ट स्वार्थमा मतदाताको गलत मागहरू पूरा गर्नेतिर नलागौँ । टिकटकको दुरुपयोगबाट विकृति र विसङ्गति बढिरहेको सवालमा गम्भीर बनौं । यसको सचेत, सभ्य, विवेकशील र अनुशासित उपयोग संस्कृति बसाल्ने हो भने यो स्वतः पुनः सञ्चालनमा आउनेछ । यसकारण यसको सदुपयोगमा गम्भीर ध्यान दिन जरुरी छ ।