भद्रपुर । आधुनिक प्रविधिबाट बनेका सामग्री सहरदेखि गाउँ–गाउँ पुग्न थालेपछि बाँसको चोयाबाट निर्मित सामग्रीको पेसा सङ्कटमा परेको छ ।

दुई–चारवर्ष अघिसम्म झापा मेचीनगर–१० का हरिकृष्ण मल्लिकलाई घरमै रोजगार मिलेको थियो तर, पछिल्लो समय  आय आर्जनका लागि बाँसको चोयाबाट निर्मित सामग्री रोजाइमा पर्न छाड्दै गएपछि समस्या उत्पन्न भएको हो । बाँसको चोयाबाट निर्मित ढाकी, पङ्खा, नाङ्लोलगायतका सामान बनाउँदै घरको गर्जाे टार्दै आएका मल्लिक यतिबेला समस्यामा परेका छन् । सानै उमेरदेखि घरको सामान्य काम गर्दै यस्ता सामग्रीबाट जीवन गुजारा गर्ने माध्यम बनाउँदै आइरहेका थिए । मल्लिकको पेसा र पुरानो पुस्तौँपुस्तादेखि सिकेको सीपसमेत ओझेलमा पर्न थालेको उनी बताउँछन् । बाबुबाजेको पालादेखि नै नयाँ पुस्तामा सीप हस्तान्तरण भएपछि यो काम थालेको उनले बताए ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेको मल्लिकको गुनासो छ । बजारमा मात्र होइन, गाउँमा समेत आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोग बढ्न थालेको उनले बताए । बढ्दो बेरोजगारका कारण धेरै युवाहरू रोजगारी खोज्दै विदेश पलायन भइरहे पनि बाँसले नै घरमै रोजगारी दिलाएको थियो तर, अहिले आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा सीप पनि ओझेलमा पर्न थालेको उनले बताए ।

सुरुमा छोराछोरी पढाउने र चाडपर्व मान्ने प्रमुख स्रोत बाँसको चोयाका सामग्रीको बिक्रीबाट प्राप्त रकम भएको उनको भनाइ छ । चाडपर्वका बखत यस्ता सामग्रीको माग प्रशस्त हुने हुँदा सामान बनाउन भ्याई नभ्याई हुने गरेको उनले सुनाए ।  छठ पर्वका समयमा बाँसका सामग्रीको माग अत्यधिक हुने र ढाकी, नाङ्लो प्रशस्त बिक्री भएको उनले सुनाए । सुरु–सुरुमा हप्ता–दश दिन लगाएर तयार गरेको सामग्री २ देखि ४ दिनमा सबै बिक्री भए पनि अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको मल्लिककी श्रीमती रुमाको भनाइ छ । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएकाले बाँसका सामग्री बनाउने पेसा लोप हँुदै गएको मल्लिकको भनाइ छ । पछिल्लो समय विकासको क्रमसँगै ग्रामीणस्तरमा समेत सडक जोडिएका कारण यस्तो अवस्था आएको उनको भनाइ छ । सडकसँग गाउँ जोडिन थालेपछि गाउँ र बस्तीमा यातायातका साधन पुग्न थालेपछि सहरबजारका सामान गाउँमै पु¥याउने र सामान राम्रा तथा आकर्षक भए पनि खासै बलियो र गुणस्तरीय नहुने रुमाको भनाइ छ । बाँसका चोयाबाट बनेका सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै उनले स्थानीयस्तरमा उत्पादन भएका भन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले सामानले बजार नपाएको उनले गुनासो गरिन् ।

डालो, नाङ्लो बाँसको चोया निकालेर तयार गरे पनि बजार नपाउँदा पछिल्लो समय काममा ऊर्जा नै नआउने र मेहनत खेर जाने रुमाले दुःखेसो पोखिन् । आधुनिक सामग्री घर–घरमा पुग्ने र स्थानीयले त्यस्ता सामग्रीको प्रयोग गर्ने गरेका कारण बाँसको चोयाबाट निर्मित सामग्री बिक्री नहुने उनको गुनासो छ । दिनभरि लगाएर सामान बुन्ने र ती सामान बिक्री नहुँदा दुःख लाग्ने गरेको उनले सुनाइन् । चोया काट्नसके दिनमा ८ देखि १२ वटा सम्म ढाकी, पङ्खा र नाङ्लो बनाउन सकिने उनले बताइन् । मासिक झण्डै १५ देखि २० हजार रुपैयाँसम्म आमदानी हुने गरेकोमा अहिले सबै हराएको उनले सुनाइन् । 

यता मेचीनगरकै ६७ वर्षीय रामनन्द मल्लिकको पनि उही पीडा छ । बाँसकै चोयाबाट बनाएका सामान बेचेर वर्षभरिको छाक टार्न कसैको भर पर्नु नपरेको उनी सुनाउँछन् । किसानले मङ्सिरमा धान थन्क्याउने समयमा उनले एउटा भकारी १ हजारदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको सुनाए । व्यापारीले घरमै आएर खरिद गर्ने गरेकोले यी वस्तुलाई बजारको कुनै समस्या थिएन तर, आज सबै सङ्कटमा पर्दै जान थालेको उनले बताए । बाँसकै चोयाबाट बिस्कुन सुकाउनेदेखि अन्य काममा समेत प्रयोग हुने मान्द्रोलाई पछिल्लो समय प्लास्टिकका त्रिपाल बजारमा आउन थालेपछि विस्थापित गर्दा करिब तीनवर्ष अघिदेखि कामबाट बञ्चित हुनु परेको बताउँछन् । त्यस्ता त्रिपाल सहरदेखि ग्रामीणक्षेत्रसम्म पुग्न थालेको उनको भनाइ छ । पुस्तौँपुस्तादेखिको सीप ३–४ वर्षदेखि गाउँमा प्लास्टिकका सामान प्रयोग गर्न थालेपछि पेसा पनि क्रमशः सङ्कटमा पर्दै गएको उनले बताए । पछिल्लो समय सहरदेखि गाउँसम्म सबैले आयातित सामान प्रयोग गर्ने गरेको मल्लिकको भनाइ छ । महिनामा ८ हजार रुपैयाँसम्म कमाउँदै आएका उनी अहिले बजारमा सामानको माग घट्दै जान थालेपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छन् ।